
नारी वाटिका डट्कम
धादिङ -१५ कात्तिक ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सञ्चार क्षेत्रमा प्रहरी प्रशासनले गरेका अवाञ्छित गतिविधिको निष्पक्ष छानबिन गरी गैरजिम्मेवार रुपमा आदेश दिनेलाई कारबाहीको दायरामा ल्याउन सरकारलाई निर्देशन दिएको छ।
शनिबार पार्टी केन्द्रीय सचिवालयमा बैठकले समसामयिक राजनीतिक, साङ्गठनिक तथा अन्तर्राष्ट्रिय सम्बन्धका विषयमा चार निर्णयहरू सार्वजनिक गरेको हो।
सभापति रवी लामिछानेको अध्यक्षतामा बसेको उक्त बैठकले गत सुक्रबार सञ्चार क्षेत्रमा प्रहरी प्रशासनले नै पत्रकारमाथी धरपकट गरिएको भनिएका गतिविधिहरू नेपालको संविधान र पार्टीको मूल आदर्श विपरीत रहेको निष्कर्ष निकालेको छ। यस्तै लोकतान्त्रिक प्रणाली, बहुलवाद, नागरिक अधिकार तथा प्रेस र अभिव्यक्ति स्वतन्त्रता जस्ता लोकतान्त्रिक मूल्यमान्यतामा पार्टीले कहिल्यै सम्झौता नगर्ने स्पष्ट पारेको हो ।
त्यसैगरी,बैठकले त्यस्ता गैरजिम्मेवार गतिविधिमा संलग्न जिम्मेवार व्यक्तिहरूको पहिचान गरी छानबिन गर्न माग गरेको र न्यायालयभित्र देखिएका गम्भीर विचलन र अनुचित साँठगाँठका घटनालाई विधिसम्मत रूपमा निरूपणका लागी संसद्बाटै निर्णायक कदम चाल्न आफ्नै संसदीय दललाई निर्देशन दिएको छ।
रास्वपा पार्टीको साङ्गठनिक सुदृढीकरण गर्न बैठकले मधेस प्रदेशमा पार्टी सङ्गठनलाई थप गतिशील बनाउने, सहमहामन्त्री हरि ढकाल नेतृत्वको समितिले तयार पारेको ‘मधेस प्रदेश सङ्गठन अडिट प्रतिवेदन, २०८३’ को विस्तृत अध्ययन गर्ने जिम्मेवारी पनि सचिवालयलाई दिएको छ।
त्यस्तै,अन्तर्राष्ट्रिय सम्बन्धको बारेमा चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को औपचारिक निमन्त्रणालाई सहर्ष स्वीकार गर्दै महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा पार्टीको एक प्रतिनिधिमण्डल आगामी कात्तिकको अन्तिम साता चीन भ्रमणमा जाने निर्णय भएको छ।
उक्त भ्रमणको मुख्य उदेस्य दुई देशबीचको पारस्परिक राजनीतिक संवाद र द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ र सुदृढ बनाउने रास्वपाले जनाएको छ ।












प्रतिक्रिया दिनुहोस