आज:  | Fri, 19, Apr, 2024

कानुनले चिनेन म माथि भएको अपराध

१९ जेष्ठ २०७९, बिहीबार ०७:३९ मा प्रकाशित ( १ साल अघि) ३५६ पाठक संख्या
नारी बाटिका


कञ्चन न्यौपाने

म पेसाले पत्रकार, साथै साइकोलोजीको विद्यार्थी। आवाजविहीनका लागि काम गर्ने पेसा र मानसिक स्वास्थ्यको अध्ययन गर्ने शिक्षा।

आहा ! आफैंले सुन्दा पनि कस्तो गज्जब लाग्ने। किनकी दुवै मेरा रूचिका विषय हुन्।

तर पछिल्ला तीन वर्ष सम्झिन्छु, न जागिर राम्रो लाग्छ न पढाइ। किनकी न मलाई राति–राति तनाव हुँदा मैले आफूलाई नियन्त्रण गर्न सकेँ न त तनावका कारण जागिरमा राम्ररी ध्यान दिन सकेँ।
ष्लखयतभअज

दुनियाँलाई अरूको आवाज सुनाउने मैले आफ्नै आवाज दबाएँ। अरूलाई ’काउन्सिलिङ’ गर्नुपर्ने मैले आफैंलाई एन्जाइटीसँग जुध्न कठिन पाएँ।

हो, मलाई कोही थोरै मोटो र कम उचाइको मान्छे देख्दा डर लाग्छ। अँध्यारोमा यस्तो आकृति देखेँ म झन् तर्सिन्छु। यस्ता मान्छेको अनुहार हेर्न मन लाग्छ, लाग्छ कहीँ मैले सोचेको मान्छे नहोस्। नयाँ नम्बरबाट फोन आउँदा झस्किन्छु। घर बाहिर कुकुर भुक्यो भने पनि सातो जान्छ।

कसैसँग फोटो खिचाउन र कतै उनीहरूले लोकेसनसहित सामाजिक सञ्जालमा सेयर गर्देलान् कि भनेर पिर लाग्छ मलाई। कुनै चारपांग्रे मेरो स्कुटरपछाडि आइरहेको छ भने मेरो मुटुको चाल तीव्र हुन्छ।
स्कुटरपछाडि बस्ने नजिकका साथीहरूले स्कुटरको स्पिड बढ्नेबित्तिकै थाहा पाउँछन् मेरो डर। कतिले सम्झाए, कतिले गाली गरे। तर त्यो डर मैले मेटाउन सकेकी छैन। पार्किङमा जानुपर्दा, कतै राति निस्कनुपर्दा साथीलाई तानेर लान्छु।

आज तीन वर्षपछि शब्दमा उतार्दैछु त्यो डर। आशा छ, शब्दसँगै बग्नेछ मेरो डर र अबदेखि मैले स्कुटर बेस्सरी कुदाउने छैन। कुनै परिचित व्यक्तिझैं आकृति देखिँदा डराउने छैन। सडकमा मेरो दुईपांग्रेझैं अरूका पनि चारपांग्रे हुन्छन् भन्ने सोच्नेछु। नयाँ नम्बरबाट फोन आउँदा ढुक्कसाथ ’हेलो’ भन्न सक्नेछु। साथीहरूसँग कतै जाँदा, कुनै कार्यक्रममा हाँसेर फोटो खिचाउनेछु र सामाजिक सञ्जालमा पोस्ट गर्नेछु।

भर्खर प्लस–टु सकाएकी थिएँ। केही गरौं भन्ने लाग्ने समय थियो। एसएलसीमा उत्कृष्ट अंकसहित पास भएकी छोरीलाई मानविकी पढाउने इच्छा आमाबाको थिएन। तर पनि मानविकी पढेकी थिएँ, पत्रकारिता गर्न मन थियो।

कलेजमा सो विषयका शिक्षक तथा हिमालयन टिभीमा काम गर्ने सरलाई आफूलाई मिडियामा काम गर्ने इच्छा भएको सुनाएँ। त्यसको केही समयपछि उनैले आफू सम्पादक भएर जान लागेको अनलाइनमा इन्टर्न गर्न प्रस्ताव गरे। परिवारमा सल्लाह गरेर स्वीकार गरेँ।

पहिलो कार्यालय, पहिलो जागिर। खुसी नै अर्कै थियो। सबै राम्रै चलिरहेको थियो। त्यही बीचमा मलाई त्यहाँ लैजानु हुने सम्पादक अमेरिका उड्नुभयो।

काम गरेको केही समयमा ती अनलाइनका सञ्चालक मलाई मन पराउन थालेछन्। एक दिन उनले आफूले मलाई मन पराउन थालेकोबारे भावना सेयर गरे र प्रेम प्रस्ताव गरे।

कसैले कसैलाई प्रेम प्रस्ताव गर्नु या मन पराउनु अपराध होइन। तर यहाँनिर दोस्रो पक्षले के सोच्छ भन्ने विषय पनि उत्तिकै महत्वपूर्ण हुन्छ।

मैले उनको प्रस्ताव अस्वीकार गरेँ। तथापि, सम्बन्ध सौहार्द नै थियो। कसैले प्रेम प्रस्ताव राख्दैमा त्यो व्यक्तिलाई गाली गर्नुपर्छ या निकट नै हुनु हुँदैन भन्ने पनि होइन। त्यसैले सामान्य व्यवहार थियो।

तर यसलाई सायद उनको पितृसतात्मक सोचले सहज रूपमा लिएन। मैले ’नो’ भनेको कुरालाई स्वीकार गर्न सकेनन्। उनी मलाई ’इम्प्रेस’ गर्न बारम्बार प्रयास गरिरहन्थे।

मेरा नजिकका साथीहरूसँग पनि नजिकिए र सबैसँग उनको आग्रह हुन्थ्यो, ’कञ्चन मिलाइदेऊ।’

साथीहरूलाई मैले प्रष्ट रूपमा ’हुँदैन’ भनेपछि उनीहरूले उल्टै तिनलाई सम्झाए। तर उनले बुझेनन्।

राम्रो मुखले प्रस्ताव अस्वीकार गर्दा जिद्दी गरिरहेपछि मलाई ’इरिटेसन’ बढ्दै गयो। उनले गर्ने हरेक व्यवहारले मलाई इरिटेट बनाउँथ्यो। जस्तो, मेरो स्कुटरको डिकीमा जबरजस्ती गिफ्ट राखिदिने। अफिसको मोबाइल फोन चलाउनू भनेर नयाँ भिडाउने आदि।

अति नै सताउन थालेको र हिंसा भइरहेको अनुभूतिपछि ०७६ सालमा मैले उनी सञ्चालक रहेको अनलाइन छाडेँ। त्यहाँबाट बिदा हुने बेला प्रष्टसँँग भनेकी थिएँ– यो विषयमा आइन्दा कुरा नगर्नू।

तर उनले मैले त्यहाँ काम छाडिसकेपछि पनि पछ्याउन छाडेनन्। बेलाबेलामा नजिकका सुराकी लगाएर मलाई फकाउन पठाउँथे। उनले पठाउने व्यक्ति मसँग पनि राम्रै चिनजानका थिए। तर कुरा गर्दा ’यत्तिको माया गर्ने मान्छे तिमीले पाउँदैनौं’ भनेपछि मेरो पारो छुटिसक्थ्यो।

उनी मलाई अनेक बहानामा पटकपटक फोन र मेसेज गरेर हैरान बनाउँथे। हुँदाहुँदा मेरो काकाको नम्बरसमेत उनको कार्यालयमा फोन गरेर पत्ता लगाएछन्।

त्यसपछि त मेरो घर–परिवारलाईसमेत फोन गरेर हैरान पार्न थाले। साथीहरूलाई पनि फोन, सामाजिक सञ्जालमार्फत् मेरो विषयले तनाव दिन थाले। साथीहरू र परिवार यसमा मुछिएपछि तनाव झन् बढ्यो। उनले गर्ने फोन मसँग मात्रै सीमित रहँदा त मैले आफ्नै तरिकाले त्यसलाई ’इग्नोर’ गर्दै आएकी थिएँ। तर घरपरिवार, साथीभाइ सबैलाई तनाव हुनेगरी फोन गर्दा मलाई हुने तनाव बढेर असह्य अवस्थामा पुगिसकेको थियो।

कार्यालयमा काम गरिरहेका बेलामा मेसेन्जरमा एकैपटक साथीहरूको मेसेज बीप गर्थ्यो, ’त्यसले फोन गरेर हैरान लगायो। के गर्ने?’

आफ्नै अवस्था सम्हाल्न नसकेकी म अरूले पनि पीडा सुनाउन थाल्दा झनै निरीह हुन्थेँ। मन अमिलो भएर आउँथ्यो। पेटमा भोक लागिरहेको छ भने पनि तिनको फोन तारान्तार बज्न थालेपछि मेरो होस उडिसक्थ्यो। छिनभरमै भोक गायब भइसक्थ्यो।

कहिले त रक्सी खाएर मातेको अवस्थामा फोन गर्थे। त्यो अवस्थामा आएको फोनको वेग सामान्य अवस्था भन्दा भिन्नै हुने भइहाल्यो। यो भन्दा असामान्य लाग्ला, त्यो बेलामा मेरो भाइबर, ह्वाट्सएप, ट्रुकलरमा एकै पटकजसो फोन बजिरहेको हुन्थ्यो। नम्बर ब्लक लिस्टमा राखेर साध्य नलागेपछि फोन अफ गरेर सुत्न बाध्य हुन्थेँ।

थेग्नै नसक्ने गरी फोन आउन थालेपछि मैले उनका कति हो कति नम्बर त ब्लक पनि गरेँ। तर उनले सताउन छाडेनन्। अन्य नम्बरबाट पनि उसैगरी फोन गरिरहे। भिओआइपी प्रयोग गरी कहिले मलेसियाको त कहिले युरोपियन मुलुकको नम्बरबाट फोन गर्थे।

उनले निरन्तर मानसिक तनाव दिन थालेपछि एक आपसमा कुरा गरेर टुंगोमा पु¥याउन बीचमा भेटेँ पनि। सहमति पनि हुन्थ्यो– फोन नगर्ने, काम परे मात्र भेट्ने वा फोन गर्ने।

तर यस्तो भएन। त्यति बेला म नयाँ पत्रिका दैनिकमा काम गर्थेँ। फोन गरेर दुःख नदिने सहमति भएको थियो। एक दिन उनले ’पुतलीसडकतिर आएको छु, एकछिन भटूम्’ भन्दै फोन गरे।

मैले ’अहिले व्यस्त छु भेट्न भ्याउँदिनँ’ भनेर फोन राखेँ।

’मेरो फुर्सद भएसम्म कुर्छु’ भनेर उनी साँझ ६ बजेसम्म तल कुरेर बसेछन्। यस्तो पागलपन देखेपछि म झनै आत्तिएँ। आइन्दा फेरि कहिल्यै उनीसँग सम्पर्कमा नरहने वाचा गरेँ।

तर उनको पागलपन २० को १९ भएन। त्यसरी मेरो अफिस तल आएर वरिपरि घुमेर बस्ने शृंखला चली नै रह्यो। त्यति बेला मलाई पार्किङसम्म जान पनि नसक्ने अवस्था भइसकेको थियो। एकपटक त उनलाई भेट्न तल गइनँ भनेर मेरो घरभित्र पस्छु भन्दै धम्की दिए।

अफिसमा काम गरिरहेकै अवस्थामा उनको बिनाकामको धम्की सहेर बस्नुपरेको सम्झिँदा अहिले पनि कहाली लाग्छ। उनले मेरो घर जाँदै गरेको भन्दै बाटोको फोटो पठाउँदै गए। मैले त्यत्ति वास्ता गरिनँ। तर पछि घरकै फोटो खिचेर पठाउँदै ’भित्र छिरम्?’ भन्दै धम्की दिए। एकछिनपछि त ’यो सबै मजाक गरेको हो, किन अत्तिन्छौ’ भन्दै मेसेज गर्न थालिसकेको थियो।

यो तनाव झेल्न नसकेर मैले सोही दिन उनका बुबालाई फोन गरिदिएँ। यसरी दुःख दिइरहेको, रक्सी खाएर रातभर फोन गरेर हैरान पारेको सुनाएँ। तर घरपरिवारलाई भन्दा पनि केही सीप लागेन। बरू मैले उनका बुबालाई फोन गरेकै बदलामा उनले मेरो घरपरिवारलाई पनि बिना काम फोन गरेर थप हैरानी दिन थाले।

घरमा मेरी आमा र काकाले भाइबरसमेत खोल्न नसक्ने अवस्था आएको थियो। कार्यालयमा हुँदा साथीभाइ र आफ्नै गुनासो थियो। अब त घर पुग्दा पनि काका र आमाको गुनासो बढ्यो। यसले मेरो तनावको ग्राफ फेरि एक तहले उँभो लागिसकेको थियो।

उनले ममाथि हिंसा गर्न छाडेनन्। दिनमा मेरो फोनमा कम्तीमा पनि सय पटक उनको नम्बरबाट घन्टी बज्थ्यो। उनले यति धेरै फोन गर्थे कि मेरा साथी, समाचार स्रोत वा अन्य कोहीले फोन गर्दा मेरो नम्बर सधैं व्यस्त भन्ने रहेछ। नम्बर ब्लक गरेर साध्य नलागेपछि मैले आफ्नो फोनमा सेभ नगरेको नम्बरबाट फोन आउन नमिल्ने बनाएकी थिएँ। त्यसपछि त कसैले काम नै परेर फोन गर्दा पनि मेरो फोन व्यस्त छ भन्न थाल्यो। यसरी धेरै जना मसँग रिसाएका छन्।

उनले अनेक बहानामा मलाई सधैं सम्पर्कमा रहन दबाब सिर्जना गरिरहे। त्योबीचमा म नयाँ पत्रिका दैनिकमा आबद्ध भएँ। त्यहाँ हुँदा पनि पुतलीसडकस्थित नयाँ पत्रिका दैनिकको अफिसमा रहेको पार्किङमा कुरेर बस्ने, पछ्याउने, मेरो पछि पछि आउने गरे। खाजा खाने समयमा मसहित साथीहरूलाई पछ्याउँथे। तर मैले उनलाई निरन्तर आग्रह गरिरहेँ– कृपया मलाई यसरी नसताउनुहोस्।

एक पटक अफिस पुग्नेबित्तिकै एकजना सरले भन्नुभयो, ’कञ्चन जी तपाईं त हिट हुनुभएछ नि!’

अनभिज्ञ मैले प्रश्न गरेँ, ’के भयो र सर?’

सरले भन्नुभयो, ’तपाईंको प्रोफाइल फोटो त ६ सय पटक सेयर भएछ।’

म छाँगाबाट खसेझैं भए। उनले केही सीप नलागेर फेक आइडी बनाउँदै मेरा व्यक्तिगत फोटाहरू सयौं पटक सेयर गर्न भ्याइसकेका रहेछन्। त्योबीचमा उनले फेक आइडी बनाएर मेरो फेसबुकमा राखेको व्यक्तिगत फोटो सयौं पटकसम्म सेयर गरेर हैरानी दिइरहे। हुँदाहुँदा मेरा साथीहरूको समेत व्यक्तिगत कुराहरू सेयर गरिदिएर थप हैरानी दिन्थे।

यो सबै भइसकेपछि मैले उनले फोनमार्फत दिएको हैरानी, फेक आइडीबाट गरेको दुरूपयोगको प्रमाण लिएर साइबर ब्यूरो पुगेँ। तर यसलाई दुर्व्यवहार भन्न नमिल्ने कारण देखाउँदै ब्यूरो पन्छियो। उनीहरूका लागि त कसैले विद्युतीय च्यानलमार्फत दुःख हैरानी दिन नग्न फोटो नै सार्वजनिक गर्नुपर्ने रहेछ, अश्लील गालीगलौज नै गर्नुपर्ने रहेछ। म निरीह भएर यसलाई ’इग्नोर’ गर्न थालेँ।

यही क्रममा सन् २०२० को फेब्रुअरीमा मैले उनलाई अब आइन्दा मलाई सम्पर्क गर्ने प्रयास नगर्नू भनेर अन्तिम मेसेज लेखेँ। अनि सबै किसिमका सामाजिक सञ्जालबाट पनि ब्लक गरेँ। यसअघि पनि नगरेको होइन, तर साथी र अन्य पत्रकारसँगको छलफलपछि फेरि तनाव नदिने विषयमा सहमति जुट्थ्यो।

यसबीचमा म नेपालवाच डटकम अनलाइनमा जोडिएँ। उनले मलाई गर्ने फोनको त आफ्नै ढंगले ’इग्नोर’ गर्दै आइरहेकी थिएँ। तीन वर्ष भए पनि फोन आउन छोडेको थिएन। म यता आइसकेपछि पनि उनले दुःख दिन छोडेनन्। मलाई दुःख दिन नपुगेर अब त कार्यालयको ल्यान्डलाइनमा फोन गरेर हैरानी दिन थालिसकेका थिए। तारन्तार रिसेप्सनमा फोन गरेर दिक्क लगाउँथे। एकपटक त अत्ति नै भएपछि एक जना सहकर्मीले फोन उठाएर गाली गर्नुभयो। दुई पक्षबीच भनाभन सुरू हुन थालेपछि झगडाले नराम्रो रूप लियो।

त्यही रिसिइबी साँध्नकै लागि उनले पाकिस्तानी दलालको हवाला दिँदै तथानाम समाचार छाप्न लगाए। त्यसपछि सहकर्मीहरूले यो विषय प्रेस काउन्सिलसम्म लैजानुभएपछि अवस्था केही मत्थर भएको थियो। तर व्यक्तिगत रूपमा भने अब उनले मसँगै ती सहकर्मीलाई पनि फोन गरेर दुःख दिन थालिसकेका थिए। अफिसको कार्यालयमा विज्ञापन छपाउनुप¥यो भन्दै कृत्रिम बहाना बनाएर फोन गर्थे।

यी विषयलाई पनि मैले इग्नोर गर्दै आएँ। तर पछिल्लो तीन महिना उनले मलाई दिएको दुःख अहिले सम्झिँदा पनि कहाली लाग्छ। यो अवधिमा उनले मसँगको रिस र कुण्ठा संस्थागत रूपमा जोडेर बदनाम गर्न थाले।

यसै पनि म कमजोर महसुस गरिरहेकी थिएँ। त्यो बेलाका सहकर्मीबीचको तिक्तताको फाइदा उठाएर तिनले सञ्चालन गरेको अनलाइनमार्फत् म कार्यरत संस्थाको तथानाम समाचार छपाए। म आबद्ध संस्थामा पाकिस्तानी लगानी रहेकोदेखि मैले पैसा लिएर समाचार लेखेको, कार्यालयले बार्गेनिङ गरेकोजस्ता तथ्यहीन, कपोलकल्पित र मनगढन्ते कुरा गरेर मानसिक तनाव दिए।

उनले संस्थाका मान्छेहरूका विरूद्धमा तथ्यबिनाको प्रयोजित समाचार लेखेर चरित्र हत्या गर्ने निन्दनीय अपराध गरे, गरिरहेकै छन्। जुन सिलसिला अहिले पनि जारी छ।

यसअघि उनको कारण घरपरिवार, साथीभाइ र आफ्नै दुःख झेलेकी थिएँ। तर अब त फेरि संस्था पनि थपियो। यो बोझ यति थाम्न नसक्ने गरी बढ्यो कि, आफूलाई मन नलागीनलागी काम छोड्न बाध्य भएँ। त्यसो त अफिसमा पनि काम छोड्न दिइरहेका थिएनन्। मैले छोड्दा संस्थाको पछि लाग्न छोड्छ भन्ने आश थियो।

सधैं कलेज, कार्यालय र घर गरेर आफूलाई व्यस्त राख्ने म। यो तीन महिना जत्तिको कहालीलाग्दो समय कहिल्यै भएन। कलेजबाट दिउँसै घर फर्किँदा घरका भित्ता नै थिच्न आऊलान् जस्तो लाग्थ्यो। यत्तिविघ्न कमजोर महसुस मैले कहिल्यै गरिनँ। किनभने मैले गर्दै नगरेको कामका सजाय व्यक्तिगत रूपमा मात्रै होइन, व्यावसयिक रूपमा पनि भोगिरहेकी थिएँ। मेरो नजिकका व्यक्तिहरूले मेरा कारण दुःख पाइरहेका थिए जुन सिलसिला अझै जारी छ।

सञ्चारमाध्यमको नियामक निकाय प्रेस काउन्सिल नेपालले कालोसूचीमा राखेर कारबाही गरे पनि उनले तथ्यहीन समाचार लेख्ने र पुराना समाचार सामाजिक सञ्जालमा सेयर गर्ने काम जारी राखेका छन्। मलाई मात्र होइन, उनीद्वारा सञ्चालित अनलाइनका अन्य समाचारका विषयमा एक दर्जन उजुरी काउन्सिलमा रहेछ। अरू पनि पीडित रहेछन् उनका समाचारबाट। उनले अहिले पनि मलाई कुनै मिडियामा टिक्न नदिने किसिमका अभिव्यक्ति दिँदै हिँडिरहेका छन्।

मैले वर्षौंसम्म आफ्नो गुरु मानेको व्यक्तिले समेत मलाई यत्तिका वर्ष पीडकलाई संरक्षण गर्नै सुझाइरहे।

मलाई निरन्तर भन्थे, ’कानुनी उपचारमा जाँदा भोलि तिमीलाई नै केही भयो भने?’

उनको कुरा सुन्दा लाग्थ्यो, उनी मलाई सुझाव होइन, मीठो आवाजमा धम्की दिँदैछन्।

कानुनले नचिनेको कसुरः

सोच्नुस् कसैले तपाईंको पिछा गर्दैछ। तपाईं जुनसुकै काम गर्नुस् तपाईंलाई हेरिरहेको छ। तपाईंको प्रत्येक पाइलामा उसको नजर छ। उसले मार्न खोजेको जस्तो लाग्दैन, कुनै शारीरिक चोट पु¥याएको होइन।

तर तपाईंको गोपनीयता नै छैन। तपाईं जता जानुहुन्छ उसलाई थाहा छ। तपाईंका कारण साथीभाइ र परिवारले हैरानी खेप्दैछ। हुँदाहुँदा तपाईं काम गर्ने कार्यालयले त्यही व्यक्तिका कारण बदनामी भोग्दैछ। यसलाई कुन कसुर भन्ने, कस्तो अपराध मान्ने?

अनौपचारिक रूपमा प्रहरीदेखि, सरकारी वकिल, मानव अधिकार आयोगका कर्मचारीहरूसँग सल्लाह लिँदा यसलाई कुन अपराध भन्ने विषयमा अन्यौल थियो। मानसिक हिंसा त भन्ने कुन कसुरमा उजुरी दिने?

उनले दिएको मानसिक अत्याचार सहन नसकी बाध्य भएर प्रहरीको महिला सेलमा पुग्दा हिंसाको उजुरीमाथि छलफलका लागि बोलाइयो। तर उपस्थित नभएपछि बानेश्वर वृत्तमा ’केस रिफर’ ग¥यो र त्यहाँबाट साइबर ब्युरोमा जान सुझाइयो।

उजुरीका क्रममा उनले मलाई फोन, म्यासेजबाट लगातार दिइरहेको हैरानीका विषय नत्थी गरेको कागजात बोकेर प्रमाणसहित गएँ। तर साइबर ब्युरो पलपल एक पुरुषबाट हिंसा सहेर तनावग्रस्त अवस्थामा रहेकी मेरो उजुरी लिन ’तथ्य पुग्दैन’ भन्दै लिनबाट पन्छियो।

ब्युरोका लागि सामाजिक सञ्जालमा अश्लील सामग्री राखे मात्रै दुर्व्यवहार हुने हो? बाँच्न पाउने मौलिक अधिकार खोसिएर महिनौंसम्म चरम् मानसिक तनाव भइरहँदा उसको नजरमा त्यो अपराध नै नहुने रहेछ!

यतिञ्जेलसम्म उनले मैले गर्दै नगरेको कामको सजाय दिइरहेका थिए। र, त्यसका निम्ति विद्युतीय माध्यम नै प्रयोग भइरहेको थियो। कसैको व्यक्तिगत जीवनमा क्षति हुनेगरी दिनमा सयौंपटक फोन गरेर हैरानी दिँदा पनि ब्युरोले विद्युतीय माध्यमबाट भएको हैरानी भनेर बुझ्ने जमर्कोसमेत गरेन।

अत्ति नै जोड गरेपछि हाल यो मुद्दा दर्ता भएर काठमाडौं जिल्ला अदालतमा विचाराधीन छ। अदालतले पक्राउ पुर्जी जारी गर्दासमेत पनि ती व्यक्ति अझै पक्राउ परेका छैनन्।

मलाई थाहा छैन, यो कसुरमा मुद्दा दर्ता भए पनि पुष्टि हुन्छ वा हुँदैन। कुन शीर्षकमा मुद्दा चलाउने भन्ने निष्कर्षमा पुग्नसमेत कानुनको नितान्त साधारण ज्ञान भएको मलाई अनेकथरी सुझाव आए।

पहिलो त मुद्दा मामिलामा नजानू।

अर्काथरी भन्थे, गए पनि कुन कसुरमा मुद्दा हाल्ने? के नराम्रो गरेको छ र? मान्छे कुटेको, दुर्व्यवहार गरेको हो र?

पत्रकारिता गरिरहेको, देशको सचेत नागरिक हुँदाहुँदै पनि म प्रहरी प्रशासनको रवैयाका कारण निराश भएँ। सायद साइबर क्राइम भनेको नेताहरूको टाउको जोड्ने र गाली गर्नेलाई मात्र लाग्ने रहेछ। कानुनी उपचारले यो मान्छेलाई केही हुँदैन भन्ने निष्कर्षमा पुगेपछि मसँग अन्याय सहेर उपेक्षा गर्नुको कुनै विकल्प रहेन। त्यसै गर्दैछु।

’नो’ केवल शब्द नभएर पूरै वाक्य हो भनेर नबुझ्ने परपीडकको गल्ती खोज्न म कहाँ जाऊँ? यो देशको कानुनमा मैले भोगेको पीडालाई कुन दफाले समेट्छ?

म, मेरो परिवार, साथीभाइ र म काम गर्ने संस्थासमेतले भोगिरहेको यो पीडा कसुर हो कि होइन?

’विश्वको उत्कृष्ट संविधान’ अन्तर्गत बनेका कानुनले मेरो पीडालाई कस्तो अपराधको श्रेणीमा राख्छ? ( सेतोपार्टी )
तस्बिरः सेतापार्टी

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस