आज:  | Sun, 12, Jan, 2025

बजेटमाथि आजदेखि मन्त्रालयगत छलफल सुरु

२३ जेष्ठ २०७९, सोमबार ०९:२६ मा प्रकाशित ( २ साल अघि) १०५३ पटक पढिएको
नारी बाटिका


काठमाण्डौं – आर्थिक वर्ष २०७९÷०८० को बजेटमाथि आजदेखि मन्त्रालयगत छलफल सुरु हुँदैछ । बजेटमाथिको सैद्धान्तिक छलफल सकिएपछि आजबाट मन्त्रालयगत छलफल सुरु हुन लागेको हो । मन्त्रालयगत शीर्षकमा छलफलका लागि आज बिहान ११ बजे प्रतिनिधि सभाको बैठक बस्दैछ ।

आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला, युवा तथा खेलकुद, श्रम रोजगार तथा सामाजिक सुरक्षा, वन तथा वातावरण, शहरी विकास, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका बजेटमाथि छलफल हुने सम्भावित कार्यसूची छ ।

यही जेठ १५ गते अर्थमन्त्री जनार्दन शर्माले १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट सङ्घीय संसदमा पेश गरेका थिए । उक्त बजेटमाथि जेठ १७ गतेदेखि सैद्धान्तिक छलफल सुरु भएको थियो ।

मन्त्रालयगत र मातहतका कार्यालयको बजेटमा छलफल सकिएपछि जवाफका लागि विभागीय मन्त्रीहरुलाई दुई दिनको समय छुट्याइएको छ । जेठ २६ गते १२ मन्त्रालय र २७ गते बाँकी मन्त्रालय तथा कार्यालय शीर्षकमा उठेका प्रश्नको विभागीय मन्त्रीहरुले जवाफ दिनेछन् ।
मन्त्रालयगत छलफल सकिएपछि बजेट पारित गर्ने प्रक्रिया सुरु हुनेछ ।

यसैबीच आजको प्रतिनिधि सभा बैठकमा मन्त्रालयगत बजेटमाथिको छलफल सुरु गर्नुअघि सभामुख अग्नि सापकोटाले यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस