आज:  | Thu, 28, Mar, 2024

प्रहरी महानिरीक्षकमा वसन्त कुँवर बढुवा

१० चैत्र २०७९, शुक्रबार १९:४२ मा प्रकाशित ( १ साल अघि) २७१ पाठक संख्या
नारी बाटिका


काठमाण्डौ १० चैत ।

नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा अतिरिक्त महानिरीक्षक (एआईजी) वसन्त कुँवर बढुवा हुनु भएको छ । आज शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले कुँवरलाई आईजीपीमा बढुवा गर्ने निर्णय गरेको हो । विसं २०४९ चैत ११ मा प्रहरी सेवामा प्रवेश गरेका हालका आईजीपी धिरजप्रताप सिंह ३० वर्षे सेवा अवधिका कारण भोली शनिवारबाट अवकाशमा जाने भएकोले रिक्त स्थानमा कुँवरको बढुवा भएको हो ।

३० वर्षे सेवाअवधि हटाएर कार्यकाल लम्ब्याउन महानिरीक्षक सिंह र उनको ब्याचले प्रयास गरिरहेको थियो । सेवा अवधि हटाउनु पर्ने बहस पहिले देखी चलेको थियो । तर, सरकारले तत्काललाई पुरानै व्यवस्था निरन्तरता दिएर प्रहरीमा नयाँ नेतृत्व चयन गरेको हो । यससँगै अघिल्लो टोली अवकाशमा गएको हो । रिक्त नेतृत्वमा कुँवर आएका हुन् ।

कुँवर सहित आईजीपी बन्ने प्रतिस्पर्धामा एआईजीहरु टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य रहेका थिए । तर, सरकारले वरीयतामा पहिलो नम्बरमा रहेका कुँवरलाई बढुवा गरेको हो । यससँगै विसं २००७ चैतमा स्थापना भएको प्रहरीमा उनी ३० औं आईजीपी बन्नु भएको हो ।

तोरण शमशेर राणा पहिलो महानिरीक्षक हुन् । तर, प्रहरीले संगठन स्थापनाको ५ वर्षपछि विसं २०१२ मा ऐन आएको दिनलाई प्रहरी स्थापना दिवस मान्दै आएको छ । यद्यपि हालसम्म संगठनमा २९ जनाले नेतृत्व पाइसकेका छन् । कुँवर ३० औं नेतृत्व तहमा हुनुहुनछ । २०२६ चैत १५ मा अर्घाखाँची सन्धीखर्क निवासी बाबु भीमबहादुर कुँवर र आमा नमकलाबाट जन्मिएका कुँवर २०५१ चैत ५ मा निरीक्षकबाट प्रहरी सेवा प्रवेश गर्नु भएको थियो ।

२०६३ भदौ ८ मा डीएसपी, २०७१ फागुन १० मा एसपी, २०७५ फागुन ६ मा एसएसपी र २०७९ असार १७ मा डीआईजी बनेका उहाँले विभिन्न जिल्ला साथै प्रहरी प्रधान कार्यालय र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा रहेर काम गरिसक्नु भएको छ ।

त्रिभुवन विश्वविद्यालयबाट व्यापार प्रशासनमा स्नातकोत्तर उनी इन्स्पेक्टर, डीएसपी र एसपी भइ विभिन्न जिल्लामा रहेर काम गर्नु भएको छ । गुल्मी, सुनसरी, सिन्धुली, मोरङ, दाङ, रोल्पा, काठमाडौं, नवलपरासी, डोटी, चितवन, नुवाकोट, धादिङ, प्रहरी युक्ति तालिम महा विद्यालय लगायत युनिटमा रहेर सेवा गरेको अनुभव रहेको छ ।

२०७३ मा चितवन प्रहरी प्रमुख रहँदा सर्वोत्कृष्ट जिल्ला प्रहरी प्रमुखको अवार्ड पाप्त गर्नु थियो ।उहाँ गएको असार १७ मा एसएसपीबाट डीआईजीमा बढुवा हुनु भएको थियो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको डीआईजी तथा प्रमुख भइ काम गरिसक्नु भएको छ । त्यसअघि प्रहरी प्रवक्ताका रुपमा काम गर्नु भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस