आज:  | Sun, 12, May, 2024

मासु सहित मृग मारेको अभियोगमा ज्वालामुखीका चार जना सिकारीहरु पक्राउ

३ असार २०८०, आईतवार १९:४० मा प्रकाशित ( १0 महिना अघि) ७३४ पाठक संख्या
नारी बाटिका


धादिङ ३ असार आईतवार ।

जिल्ला प्रहरी कार्यालय धादिङले मृग मारेको अभियोगमा मृगको मासु सहित चार जना सिकारीहरुलाई पक्राउ गरेको छ । आज आईतबार पत्रकार सम्मेलन गरि पक्राउ परेका चारै जना सिकारीलाई हात हतियार र सिकार गरिएको मृगको मासु सहित सार्वजनिक गरिएको हो ।

धादिङ प्रहरीले केही शिकारीहरुले मृग मारी काटेर हतियार सहित खाजा खाईरहेको भन्ने सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धादिङबाट प्रहरी अधिकृत सहितको खटिएको प्रहरी टोलीले शनिबार ज्वालामुखी गाउँपालिका ४ धौखोला दोभानटारबाट ४ जना सिकारीलाई पक्राउ गरेको प्रहरी उपरिक्षक गौतम मिश्रले बताउनु भयो ।

पक्राउ पर्ने सिकारीहरुमा ज्वालामुखी गाउँपालिका ४ बस्ने ६० वर्षीय पदम सिलवाल, सोही ठाउँका ३० वर्षीय राजेन्द्र शाक्य, २८ वर्षीय आशिष गुरुङ र वडा नम्बर ६ बस्ने १९ वर्षीय सुमन गुरुङ रहेका छन् ।

यस्तै प्रहरीले खानतलासी गर्दा उनीहरुको साथबाट मृगको रौं सहितको आलो छाला एक थान, हड्डी सहितको तयारी आलो मासु, बारुद लोड गरिएको भरुवा बन्दुक दुई थान, धारिलो हतियार खुकुरी एक थान बरामद गरिएको मिश्रले बताउनु भएको छ ।चारै जना पक्राउ परेकाहरुलाई आजै धादिङ जिल्ला अदालतबाट हातहतियार तथा खरखजना मुद्धामा सात दिन म्याद थप गरि अनुसन्धान भईरहेको छ ।

साथै अवैध रुपमा वन्यजन्तुको शिकार गर्नेहरुलाई वन्यजन्तु सम्बन्धी कसुरमा समेत डिभिजन वन कार्यालय धादिङबाट थप अनुसन्धान समेत हुने प्रहरी उपरिक्षक मिश्रले बताउनु भयो ।

त्येसैगरी असार २ गते शनिबार नै नेत्रावति डबजोङ गाउँपालिका २ कमरेन माथि माथिल्लो गुम्बा नजिकको जंगलबाट एक थान भरुवा बन्दुक फेला पारेको छ । प्रहरी चौकी सेमजोङको कमाण्डमा खटिएको गस्ति टोलीले जंगलमा गस्ती गर्ने क्रममा भरुवा बन्दुक फेला पारी आवश्यक कार्वाहिको लागि अनुसन्धान भईरहेको मिश्रले बताउनु भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस