आज:  | Thu, 16, May, 2024

आज वडादशैं नवरात्रको सातौँ दिन विभिन्न शक्तिपिठ तथा नेपालीको घर घरमा फूलपाती भित्र्याइँदै

४ कार्तिक २०८०, शनिबार ०८:१५ मा प्रकाशित ( ६ महिना अघि) ३३९ पाठक संख्या
नारी बाटिका


काठमाडौँ, ४ कात्तिक ।

आज वडादशैं नवरात्रको सातौँ दिन देशका विभिन्न देवी देवालयका शक्तिपिठ तथा नेपालीको घर घरमा फूलपाती भित्र्याइँदै छ । सनातनधर्मलिम्वहरुले बडादसैँ अर्थात् नवरात्रको सातौँ दिन आज पूजा कोठा वा दसैँघरमा फूलपाती भित्र्याइँदै छ । त्यसैगरी नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना पनि गरिँदै छ ।

दुर्गा पक्षको सातौँ दिन कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । प्राणीमात्रलाई कालले नष्ट गर्दछ । त्यस्तो काललाई पनि भगवती देवीले नष्ट गरिदिन्छिन् भन्ने मान्यता रहेको छ । यस्ती देवीको स्वरुपलाई कालरात्रि भनिन्छ । कालरात्रि कृष्ण वर्णको हुनुका साथै यिनी भयङ्कर आकृतिको हुन्छिन् भन्ने विभिन्न पुराणमा उल्लेख गरिएको छ ।

प्राणीलाई नष्ट गर्ने भएकाले नै यी देवीलाई कालरात्रि भनिएको पौराणिक ग्रन्थमा उल्लेख गरिएको छ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सरस्वती (चण्डी), श्रीमद्देवी भागवती लगायत देवी स्तोत्र पाठसमेत गर्ने गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ ।

धार्मिक मान्यताका आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्ने गर्छन् । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यसरी १५ दिनसम्म नेपालीले बडादसैँ पर्व मनाउँने गर्दछन् ।

नवरात्रका अवशरमा देशभरका शक्तिपीठहरुमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्ने गर्दछ । राजधानी र राजधानीका बाहिरका शक्तिपीठ एवं देवी मन्दिरमा पूजा आराधना एवं दर्शनका लागि बिहानैदेखि भक्तजनको भीड लागेको छ ।

बडादसैँको सातौं दिन आज नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ विशेष समारोह आयोजना गर्दैछ । फूलपाती बढाइँ समारोह धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिने विशिष्ट मौलिक कार्यक्रम मानिन्छ । आजको फुलपातीकै अवशरमा सैनिक मञ्च टुँडिखेलमा सेनाले खेलेको परेड मुख्य आकर्षण देखिने गर्दछ ।

फुलपातीका दिन आजै गोरखा दरबारस्थित दसैँघरबाट काठमाडौँको हनुमानढोका दरबारका लागि फूलपाती सहितको डोली पठाइँदै छ । तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले काठमाडौँको हनुमानढोका दरबारबाट राजकाज सुरु गरेदेखि बर्सेनि बडादसैँको सातौँ दिन गोरखा दरबारको दसैँ घरबाट फूलपाती सहितको डोली काठमाडौँको हनुमानढोका दरबार पुर्याएर भित्र्याउने प्रचलन छ ।

गोरखा दरबारको दसैँघरबाट सतिपिपलस्थित फूलपाती चौतारासम्म फूलपातीको डोली दरबारका सुसारेहरूले बोकेर ल्याई त्यहाँबाट हनुमानढोका दरबार पठाउने प्रचलन रहँदै आएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%२%१%

प्रतिक्रिया दिनुहोस