आज:  | Thu, 16, May, 2024

आज वडादशैंको नवौँ दिन महानवमी पर्व मनाइँदै

६ कार्तिक २०८०, सोमबार ०८:३२ मा प्रकाशित ( ६ महिना अघि) ३६९ पाठक संख्या
नारी बाटिका


धादिङ, ६ कात्तिक ।

आज वडादशैंको नवौँ दिन महानवमी पर्व मनाइँदैछ । सनातन धर्मालम्विहरुले प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको ध्यानका साथ विशेष पूजा आराधना गरी मनाइँदैछ ।

आज महानवमीका दिनमा गरिने दुर्गा पूजा लगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइने गरिन्छ । दसैँघर र कोत लगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठहरुमा बोका, हाँस, कुखुरा र राँगाको बलि सहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती (चण्डी)श्रीमद्देवीभागवत एवं देवी स्तोत्र पाठ गर्ने गरिन्छ ।

पशुबलि नदिने र शाकाहारीहरुले भने महानवमीका दिनमा कुभिण्डो, घिरौँला, मुला, काँक्रो र जटावाला नरिवल समेत बलि दिई पायस पनि चढाउने गरेका र्छन् । अधिकांश स्थानमा महाष्टमीको दिनमा बलि दिने र महानवमीका दिनमा मार हान्ने चलन पनि रहेको पाइन्छ ।

मार्कण्डेय पुराणमा उल्लेख भए अनुसार महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तबीज राक्षसलाई वध गरेकाले महानवमी पर्वलाई विशेष महत्त्वका साथ लिईने गरिएको छ । कतिपय शक्तिपीठमा भने आज हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबलि पनि दिने गरिन्छ । नवरात्रको अन्तिम दिन आज पनि देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शनका लागि भक्तजनको भीड लाग्ने गर्दछ ।

आश्विन शुक्ल प्रतिपदाका दिन विधीपुर्वक घटस्थापना गरी जमरा राखिएको पूजा कोठा वा दसैँ घरमा आज नवदुर्गा मध्येकी नवौँ देवी तथा मुख्य दुर्गा भवानीको सिद्धिदात्रीको विधिपूर्वक पूजा आराधना गरिन्छ । दुर्गाको प्रतीकका रूपमा कन्यालाई पूजा गरी दक्षिणा समेत दिइन्छ । यस अवसरमा महाकाली, महालक्ष्मी र महासरस्वतीको विधिपूर्वक पूजा आराधना गरिन्छ ।

महानवमीका अवसरमा कोतहरूमा हर्षबढाइँका साथ कोतपूजा र निशानापूजा गरिन्छ । यस अवसरमा हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक र गुल्महरूमा बाजागाजासहित जङ्गी निशाना पूजा र कोतपूजा गर्ने प्रचलन रहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%

प्रतिक्रिया दिनुहोस