आज:  | Thu, 09, May, 2024

प्रधानमन्त्री दाहालको निमन्त्रणामा राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस नेपाल भ्रमणमा

१२ कार्तिक २०८०, आईतवार ०८:०३ मा प्रकाशित ( ६ महिना अघि) २७७ पाठक संख्या
नारी बाटिका


भगवती उप्रेती

नारी वाटिका संवाददाता

काठमाडौँ,१२ कात्तिक ।

प्रधानमन्त्री दाहालको निमन्त्रणामा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस नेपाल भ्रमणमा आएका छन् । दाहालको निमन्त्रणामा राष्ट्रसङ्घका महासचिव गुटेरेस ४ दिने भ्रमणको लागी नेपाल आएका हुन् ।  उनलाई परराष्ट्रमन्त्री नारायण प्रकाश (एनपी)साउदले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षबाट स्वागत गर्नु भएको थियो ।

यसै अवसरमा नेपाल सरकारका उच्च अधिकारी, नेपालस्थित संयुक्त राष्ट्रसङ्घको कार्यालयका प्रतिनिधि लगायत विशिष्ट पदाधिकारीको उपस्थित रहेको थियो । महासचिव गुटेरेसको स्वागतमा नेपाली सेनाले सम्मान गारत अर्पण गरेका थिए ।

राष्ट्रसंघका महासचिव गुटेरेसले भ्रमणको पहिलो दिन आइतबार राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रपति कार्यालय र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग उहाँकै कार्यालयमा शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यसैगरी महासचिव गुटेरेसले पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र पूर्व प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग सङ्घीय संसद् भवन नयाँबानेश्वरमा छट्रटा छुट्टै शिष्टाचार भेट गर्नु हुनेछ । साथै उपप्रधानमन्त्रीद्वय पूर्णबहादुर खड्का र नारायणकाजी श्रेष्ठ तथा परराष्ट्रमन्त्री साउदसँग समेत महासचिव गुटेरेसको छुट्टाछुट्टै भेटवार्ता हुने कार्यसुचि रहेको छ ।

उहाँहरुसंगको भेटवार्तापछि उनले ऐतिहासिक एवं पुरातात्विक महत्वको सम्पदास्थल पाटन दरबार क्षेत्रको पनि अवलोकन गर्नेछन् । प्रधानमन्त्री दाहालले महासचिव गुटेरेसको सम्मानमा आइतबार साँझ सांस्कृतिक कार्यक्रम सहितको रात्रिभोजको आयोजना गर्ने भएका छन् । भ्रमणका क्रममा सोमबार उनी नाम्चे, पोखरा, अन्नपूर्ण आधार शिविर र लुम्बिनी जाने कार्यक्रम रहेको छ । आगामी मङ्गलबार अपराह्न ४ बजे उनले सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले एक सुचना मार्फत जनाएको छ ।

प्रधानमन्त्री दाहालको निमन्त्रणामा महासचिव गुटेरेस यतिबेला औपचारिक भ्रमणका क्रममा नेपाल आएका हुन् । सन् २०१७ मा संयुक्त राष्ट्रसङ्घको महासचिव भएपछि पहिलोपटक नेपालको भ्रमण गर्न लागेका गुटेरेसले यहाँको शान्ति प्रक्रिया, दिगो विकास, जलवायु परिवर्तन लगायत विषयमा छलफल गर्ने मन्त्रालयले जनाएको छ । राष्ट्रसङ्घका महासचिवको करिब १५ वर्षपछि नेपालमा हुन लागेको यस भ्रमणलाई कूटनीतिक क्षेत्रमा महत्वका साथ हेरिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस