आज:  | Sat, 27, Apr, 2024

आज लक्ष्मीपूजा, धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरी मनाइँदै

२६ कार्तिक २०८०, आईतवार ०७:२३ मा प्रकाशित ( ५ महिना अघि) ५२१ पाठक संख्या
नारी बाटिका


काठमाडौँ,२६ कात्तिक ।

आज लक्ष्मीपूजाको दिन । धनधान्यकी देवी लक्ष्मीको पूजाआराधना गरी मनाइँदै छ । यमपञ्चकको दोस्रो दिन आज कार्तिक कृष्ण औँसीको साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजााराधना गरी श्रद्धा भक्ति पूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ । हाम्रा धर्मग्रन्थले दिएको ज्ञानको विस्वासमा आधारित रहंदा सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर आँगन सफासुग्घर र गाईको गोबर एवं रातोमाटाले लिपपोत गरी दीपावली गरेर लक्ष्मी देवीलाई आमन्त्रण गरिन्छ ।

आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सँघार, कौसी, अटाली, भ¥याङ लगायत स्थानमा सरसफाइ गरी दियोमा तेल र वत्ती राखेर दीपावली गरिन्छ ।सुखरात्रिको पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटाले लिपपोत गरेर चामलको पीठो र अबीरले लक्ष्मीको पाइला बनाई उनी आउने बाटो देखाइन्छ ।

पाइलै पिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्वलन गरी झिलीमिली बनाइन्छ । हाल पालामा दियोका स्थानमा मैनबत्ती बाल्ने प्रचलन बढ्न थालेको छ । तर सबैभन्दा चोखो मानिने दियोमा वत्ति बाली सकेपछी पूजा कोठामा दियो, कलश र गणेश सहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजाराधना गरिन्छ ।

लक्ष्मीपूजा गरीसकेपछि कन्या र छोरीचेलीलाई लक्ष्मीको प्रतीक मानी पूजा गरी दक्षिणा समेत दिने प्रचलन रही आएको छ । आज घरमा लक्ष्मीपूजा गरेपछि धनदौलत वा अन्य सामान घरबाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने धार्मिक विश्वास छ । लक्ष्मीपूजा सन्ध्याकालमा गरी मध्यरातमा घरका नारीले नाङ्लो ठटाएर ‘अलक्ष्मी भागोस् लक्ष्मी र धनधान्यको आगमन होस्’ भनी कामना गर्ने शास्त्रीय विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पुर्व अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिनु भयो ।

आज साँझ युवतीहरु समूह बनाई घरघरमा भैलो खेल्छन् । भगवान् विष्णुले यमपञ्चकको पाँच दिन स्वर्ग, मत्र्य र पाताल तीनै लोकको शासन गर्ने वरदान बलिराजालाई दिनु भएको थियो । वरदान पाएका बलिराजाले मनुश्यहरुलाई भलो होस् भनी घरघरमा गाउन लगाएको सम्झनामा भैलो खेल्ने गरिएको हो । ‘भलो होस्’ भन्ने शब्द समयक्रममा अपभ्रंश भई भैलो हुन आएको पनि उहाँ बताउनु हुन्छ ।

आज भैलो खेल्न आउनेलाई धान, चामल, फूलमाला, पैसा र सेलरोटी दिइन्छ । भैलो खेल्न आउनेलाई दिइने दान कात्तिकको दान भएकाले नदिएमा राम्रो नहुने र दिएमा पुण्य प्राप्त हुने धार्मिक विश्वास छ ।लक्ष्मीपूजाका अवसरमा आज शहर बजारमा दीपावली गरी झिलीमिली बनाइन्छ । कुल परम्परा अनुसार कतै आजै बिहान गाईको पूजा गर्ने गरिन्थ्यो । तर यसवर्ष दिन घटबड भएको कारण भोली गाईको पुजा गरी गाईलाई मिठा मिठा खानेकुरा खुवाईन्छ ।

शास्त्रीय रुपमा भने औँसीपछि कार्तिक शुक्ल प्रतिपदा लागेपछि मात्र गाईपूजा गर्नुपर्ने उल्लेख गरिएको धर्मशास्त्रविद् गौतमले जानकारी गराउनु भयो ।

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%१%२%

प्रतिक्रिया दिनुहोस