आज:  | Mon, 29, Apr, 2024

आजबाट छठपर्वको व्रत विधि सुरु, धुभधामका साथ धार्मिक विधी अनुसार पुजाअर्चना गरी मनाईंदै

१ मंसिर २०८०, शुक्रबार ०७:४६ मा प्रकाशित ( ५ महिना अघि) २३० पाठक संख्या
नारी बाटिका


०१ मंसिर ।

आजबाट छठपर्वको रौनक र व्रत विधि सुरु भएको छ । विशेष गरी नेपालको तराई क्षेत्रमा धुभधामका साथ धार्मिक विधी अनुसार पुजाअर्चना गरी मनाईने यस पर्व महोत्तरी मिथिला क्षेत्रमा यतिबेला जताततै छठपर्वको रौनक देखिएको छ । सूर्य उपासनाको महापर्व छठको तयारीमा मिथिला क्षेत्रका बासिन्दा हरु उत्शाहका साथ जुटेका छन् ।

यस पर्वको प्रारम्भमा बर्तालुले आज ‘नहाय–खाय’ विधिबाट गर्ने गर्दछन् । कात्तिक शुक्ल तृतीयाकै दिन बर्तालुले उसिना चामल, कोदो, मुसुरो, माछा,मासु सहित तामसी र राजसी भोजन परित्याग गरी ‘अरबा–अरबाइन’ विधि अघिल्लो दिन नै गर्ने गर्दछन् । निरामिष (सात्विक) भोजन सुरु गरेर तृतीयाकै दिन व्रतको तयारी थाल्ने परम्परा छ ।

मिथिला क्षेत्रमा यस पर्वको अबशरमा जताततै सूर्यदेव र षष्ठी (छठी) देवीको महिमा गाइएका गीत गुञ्जी रहेकाछन् । छठ प्रारम्भ भएसँगै विशेष गरी तराई क्षेत्रमा धार्मिक महत्वका तलाउ र नदी परिसर बेहुलीझैँ सिङ्गार्ने गरिन्छ । यस पर्वमा महिला÷पुरुष जसले व्रत गरे पनि हुने विधान (शास्त्रीय) मान्यता रहे पनि धेरैजसो घरको मुख्य महिलाले नै व्रत सङ्कल्प गर्ने गरेको पाइन्छ ।

आज कात्तिक शुक्ल चौथीका दिन बर्तालुले पवित्र स्नान गरी शुद्ध भई व्रत सङ्कल्प गरेर चोखो खानेछन् । यो विधिलाई ‘नहाय–खाय’ भनिन्छ । यस पर्वले त्यस क्षेत्रका घर–घरमा व्यस्तता बढाएको छ । पूजा सामग्रीको व्यवस्थापन गर्नमा सबै खटिएका छन् ।

श्रद्धा, निष्ठा र आत्मिक शुद्धीलाई अत्यन्त महत्व दिइने छठ पर्वमा पूजा प्रसाद सामग्री ठकुवा (गहुँको पिठो र सख्खर मिसाएर शुद्ध घ्यूमा बनाइने खास परिकार), भुसुवा (कसार) र अन्य मिष्ठान्न परिकार ढिकी, जाँतोमा कुटिएको र पिधिंएको चामल र गहुँको पिठोबाट नै पकाइने प्रचलन । यी परिकार पकाउन चुल्हो पनि नयाँ प्रयोग गर्ने गरिन्छ ।

छठपर्वमा सूर्यलाई अघ्र्य दिने र हात उठाउने समयमा ज्यामिर, बिमिरो, बोट सहित उखालिएको अदुवा, बेसार र फुर्को (पातगुवो) सहितको उखु आवश्यक सामग्रीमा पर्ने हुँदा पर्व विशेषमा यी कृषि उपजले राम्रो बजार पाउने समय पनि यही पर्व हो ।

बिहीबार कात्तिक शुक्ल त्रितीयाका दिन ‘अरबा–अरबाइन’ र आज (चौथी तिथि) ‘नहाय–खाय’ विधि गर्ने बर्तालुले शनिबार निराहार व्रत बसी राति सख्खरमा पकाइएको अरवा चामलको खिर कूलदेवता र छठीदेवीलाई चढाएर प्रसाद स्वरुप खानेछन् । यो विधिलाई मिथिलामा ‘खरना’ भनिन्छ ।

बर्तालुले षष्ठी तिथिका दिन निराहार व्रत बसेर साँझपख मनोरम घाट बनाइएको जलाशयमा पुगी कम्मरसम्म पानीमा चोबलिएर अस्ताउँदा सूर्यलाई अघ्र्य दिएर प्रसाद राखिएको डाली हातमा उठाइ सूर्यलाई देखाइन्छ । यो व्रत आइतबार सम्पन्न हुने छ । यो विधिलाई ‘सझुका अरख’ वा ‘सँझियाघाट’ भनिन्छ ।
यसरी ‘सझुका अरख’ मा देखाइएको प्रसाद सामग्रीको डाली सप्तमीका दिन बिहानै उदाउँदा सूर्यलाई अघ्र्य दिएर देखाइएपछि छठ सम्पन्न हुने परम्परा छ । यसपालि छठको समापन सोमबार बिहान सूर्योदयसँगै गरिने भएको छ ।

मिथिला क्षेत्रमा ‘सझुका अरख’ सम्पन्न गरेर घाटमै बस्ने र सप्तमीका दिन बिहान सूर्योदय हुन एक घडीअघिदेखि पानीमा चोबलिएर बर्तालुले गीतको भाखामा सूर्यदेवलाई चाँडै देखिन पुकारा गर्छन् । सबैजसो घाटमा रातभरि जाग्राम बस्न गीत, सङ्गीत, नाटक र मनोरञ्जनका विभिन्न साधनको व्यवस्था गरिन्छ । पछिल्लो समय छठ सबै नेपालीको साझा पर्व बन्दै आएकोछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%५%

प्रतिक्रिया दिनुहोस