आज:  | Sat, 27, Jul, 2024

बोलेरो गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु, दुईजनाको अवस्था गम्भीर

२८ जेष्ठ २०८१, सोमबार ०७:१८ मा प्रकाशित ( १ महिना अघि) २३५ पाठक संख्या
नारी बाटिका


रुकुम २८ जेठ।

रुकुम पश्चिमको मुसिकोटमा बोलेरो जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । साथै तीन जना गम्भिर घाइते भएका छन्। मुसिकोट नगरपालिका–१ स्थित नेपाने खलङ्गाबाट बाँफिकोट गाउँपालिका–४ स्थित छिनखेत जाँदै गरेको कर्णाली प्रदेश २००१ च ०४१३ नम्बरको बोलेरो गाडी आइतबार बेलुकी दुर्घटनामा परेको हो।

गाडी सडकबाट तल खसी दुर्घटनामा परी बर्दियाको ठाकुरबाबा नगरपालिका–५ कालीगौडीका २७ वर्षीय सौगात विक, सुर्खेतको गुर्भाकोट नगरपालिका–८ मेहलकुना घर भएका गाडी चालक ३० वर्षीय धर्मेन्द्र श्रेष्ठ र सुर्खेत बराहताल गाउँपालिका–५ बड्डीचौरका १९ वर्षीय जितबहादुर कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रवक्ता प्रहरी निरीक्षक बखत शाहीले जानकारी दिनु भयो ।

निरीक्षक बखत शाहीका अनुसार घटनास्थलबाट उद्धार गरेर जिल्ला अस्पताल सल्ले ल्याइएको थियो भने उनीहरूको उपचारका क्रममा मृत्यु भएको हो।यसैगरी दुर्घटनामा परी घाइते हुनेहरुमा रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–४ छिनखेतका १७ वर्षीय सुजल विक, बर्दिया ठाकुरबाबा नगरपालिका–५ बनकट्टीका २६ वर्षीय दिलीप थापा र सोही नगरपालिका कालीगौडीका २७ वर्षीय टीकाराम खनाल रहेको प्रवक्ता शाहीले बताउनु भयो।

घाईते हरूमध्ये विक र खनालको अवस्था गम्भीर छ। उनीहरुको जिल्ला अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगन्जस्थित अस्पतालमा ‘रिफर’ गरिएको छ। घाइते थापाको जिल्ला अस्पतालमै उपचार भइरहेको जनाईएको छ।

बाँफिकोट क्षेत्रमा ‘फाइबर नेट’ विस्तार गरिरहेका उनीहरू छिनखेतमा बस्दै आएका थिए। गाडी सडकबाट करिब दुई सय मिटरभन्दा तल खसी गाडी पनि तीन टुक्रा भएको बताइएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस