
नारी बाटिका
फाईल तस्वीर
बिबियु
काठमाडौं २४असोज ।
आज नवरात्रको सातौं दिन अर्थात् सप्तमी,नेपालीको घरघरमा शास्त्रीय विधिअनुसार शुभसाइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ ।
वडादशैंको पहिलो दिन घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँघर अथवा पूजा कोठामा शुभसाइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने गरिन्छ ।
नवपत्रिकाको नामले समेत चिनिने फूलपाती नववटी देवीको प्रतीकको रूपमा भित्र्याई शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको छ । तर पछिल्लो समयमा युवा वर्गजति विदेशतिर पलायन हुदै जानुले पनि नेपाली विशेष ठुला चाडपर्वमा गरिने धर्म संस्कृति,रिति रिवाज तथा मौलिकतामा कमी आउँदै गएको आभाष देखिन्छ ।
केरामा ब्रह्माणी, दारिममा रक्तदन्तिका, धानमा लक्ष्मी, हलेदोमा दुर्गा, मानवृक्षमा चामुण्डा, उखुमा कालिका, बेलपत्रमा शिवा, अशोकमा शोकरहिता र जयन्तीमा कात्तिकी देवीको आह्वान गरी पूजा गर्ने गरिन्छ, यी देवी भवानीहरु नवदुर्गा देवीका रुपमा सम्झने पार्षद् अर्थात् सहायक हुन् ।
त्यसैगरी आजैका फूलपाती भित्र्याएपछि नववटै देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ । हनुमानढोका दरबारको दशैंघरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा रहीआएको छ । गोरखाबाट धादिङ जिल्लाको जीवनपुरसम्म दसैँघरका पूजारीहरुसहित मगर जातिका छ जनाले ल्याउने र धादिङ जिल्लाको जीवनपुरबाट काठमाडौँको जमलसम्म काठमाडौँबाट गएका ब्राह्मण जातिका छ जनाले ल्याउने परम्परा रहिआएको छ ।
जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्चपदस्थ अधिकारी,कर्मचारीहरू, गुर्जुका पल्टन, ब्याण्डबाजा, पञ्चेबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फूलपाती ल्याउने गरिएको छ । आश्विन शुक्ल प्रतिपदाका दिनमा वैदिक विधिपूर्वक घटस्थापना गरी जमरा राखेपछि सुरु हुने नेपालीको महान्पव दशैं अर्थात् दुर्गापूजा पाठपछी चहलपहल भने आजैका दिनदेखि बढ्ने गर्दछ ।
आजैका दिनदेखि सरकारी,गैरसरकारी,निजी क्षेत्र तथा कल कारखाना लगायतका कार्यालय पनि बिदा हुने भएकाले विभिन्न पेशा र व्यवसायमा संलग्न व्यक्ति सपरिवार बसेर दुर्गा भवानीको प्रसादका रुपमा दशैं मनाई टीका थाप्न आ–आफ्नो घर फर्कने क्रम अझ तीव्र हुने गर्दछ ।
ग्रामीण भेगमा आजैका दिनदेखि दोबाटो, चौतारो र चौबाटामा हालिने लिङ्गेपिङ र रोटेपिङले दसैँको रौनकतालाई अझ बढाउने गर्दछ । यस अवसरमा चङ्गा उडाएर रमाइलो गर्ने सांस्कृतिक परम्परा पनि छ । पछिल्लो समय पिङ र चङ्गाको रमाईलो लिने युवा वर्गमा परम्परामा कमी आएकाले पनि दशैंको मौलिकता गुम्न थालेको बूढापाकाहरुले चिन्ता व्यक्त गर्दछन्।







प्रतिक्रिया दिनुहोस