काठमाडौँ २६ असोज ।
विजया दशमी अर्थात् दुर्गापक्षको मुख्य दिन आज । नवदुर्गा भवानीको प्रसादका रूपमा आज आफ्ना मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका तथा समृद्धिको प्रतीक जमरा लगाइएको छ । हनुमान ढोकाको दशैंघर तथा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरि उमारिएको जमराको प्रसाद आज मान्यजनबाट लगाइन्छ ।
आजको दिन टीका प्रसाद ग्रहण गर्न लागी मुख्य साइत नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले बिहान ११ बजेर ३६ मिनेटमा उत्तम साइत रहेको जनाएको छ । आज दशैंको मुख्य दिन आफैँमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने मान्यता रहेको छ । आज बिहान ८ बजेर ३३ बजे देवी बिसर्जनको साइत रहेको समितिले जनाएको थियो ।
घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ । आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसाद टीका, जमरा थापेर आशिर्वाद लिई मनाइन्छ । तर विभिन्न कारणवस आज नभ्याउनेले कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका ग्रहण गर्ने प्रचलन छ।
यसैगरी पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रूपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रूप मानी लगाउने गरिन्छ । असत्यमाथि सत्य र आसुरीशक्तिमाथि दैवी शक्तिको विजयको रूपमा मनाइने विजयादशमी बडा दसैँको सबैभन्दा महत्त्वपूर्ण दिन हो ।
त्रेता युगमा आजैका दिन भगवान् रामले असत्य तथा राक्षसी प्रवृतिका रावणमाथि विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन सुरु गरिएको धार्मिक विश्वास छ । यसैले आजको दिनलाई विजयको प्रतीकका रूपमा लिइन्छ ।
आफ्ना मान्यजन तथा ठूलाबडाको गुरु पुरोहित, हजुरबुबा, हजुरआमा, बा, आमाका हातबाट नव दुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी उहाँहरूबाट यश, ऐश्वर्य वृद्धि, काम गर्ने क्षमतामा वृद्धि एवं दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिइने गरिन्छ । विजयादशमीमा टीका लगाइदिँदा आशीर्वाद दिने मन्त्रहरु
आयुद्रोणसुते श्रियं दशरथे शत्रुक्षयं राघवे ।
ऐश्वर्यं नहुषे गतिश्च पवने मानं च दुर्योधने ।।
शौर्यं शान्तनवे बलं हलधरे दानं च कुन्तीसुते ।
विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायण ।।
अर्थात् द्रोणाचार्यका छोरा अश्वत्थामाको जस्तो आयु होस्, अयोध्याका राजा दशरथको जस्तो श्री होस्, दशरथका छोरा रामको जस्तो शत्रु नाश होस्, राजा नहुषको जस्तो ऐश्वर्य होस्, वायुको जस्तो गति होस्, दुर्योधनको जस्तो मान होस्, भीष्मको जस्तो शुरता होस्, बलरामको जस्तो बल होस्, कुन्तीका छोरा कर्णको जस्तो दानशीलता होस्, विदुरको जस्तो ज्ञान विज्ञान होस्, नारायणको जस्तो कीर्ति होस् भनी आशीर्वाद दिने गरिन्छ । यस्तै
जयन्ती मङ्गला काली भद्रकाली कपालिनी ।
दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोऽस्तुते ।
प्रतिक्रिया दिनुहोस