आज:  | Tue, 03, Dec, 2024

मुग्लिन–पोखरा सडक आजदेखि२०दिनसम्म दैनिक ४ घण्टा बन्द हुने

३ मंसिर २०८१, सोमबार १०:४८ मा प्रकाशित ( २ हफ्ता अघि) ११० पाठक संख्या
नारी बाटिका


काठमाडौं ३ मंसिर ।

पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेदेखि देउराली सडकखण्ड आज (सोमबार)देखि २० दिनसम्म दैनिक साढे चार घण्टा बन्द हुने भएको छ । निर्माणको क्रममा रहेको मुग्लिन–पोखरा सडक अन्तर्गत छिर्कने देउराली सडकखण्डमा कामलाई तीव्रता दिन यही मङ्सिर २३ गतेसम्म दैनिक साढे चार घण्टा सडकमा सवारी आवगमन बन्द गर्न लागिएको हो ।

सडकखण्ड दुई चरणमा बन्द गरी काम गरिने मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड)का इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए । इन्जिनियर पाण्डेका अनुसार आज राति ११ बजेदेखि बिहान १ बजेसम्म सडक पूर्ण रुपमा बन्द गरी निर्माण कार्य हुनेछ । राति १ बजेदेखि १ः३० बजेसम्म सडकमा सवारी आवागमन खुला हुन्छ ।

साथै दोस्रो चरणमा राति १ः३० बजेबाट विहान ४ बजेसम्म सडक बन्द गरी निर्माण कार्य गरिने उनले बताए । आकस्मिक अवस्थामा विशेष व्यवस्था गरी सवारी पास गराइने पाण्डेले जानकारी दिए । सो क्षेत्र सडक योजनाको पूर्वी खण्डमा सडक निर्माणको कामलाई तीव्रता दिनका लागि छिर्कनेदेखि देउराली खण्डमा अत्यावश्यक सवारी बाहेक अन्य सवारी साधनका लागि यस अवधिमा पूर्ण रुपमा बन्द रहने बताइएको छ ।’

यस्तै यस अवधिमा रोकिने सवारीसाधनहरूले सवारी रोक्दा र सवारी चलाउँदा कडाइका साथ लेन अनुशासन कायम राख्न तथा सवारी लामबद्ध भएको अवस्थामा जथाभाबी ओभरटेक नगर्न आग्रह गरिएको छ । पूर्वी खण्डमा हालसम्म ६८ प्रतिशत कार्य प्रगति भएको छ ।

पाण्डेका अनुसार पूर्वी खण्डअन्तर्गत १४ वटा साना पुल निर्माण सकिएका छन् । त्यस्तै दुई ठूला पुल र एक सय तीन कल्भर्ट निर्माण सकिएको बताईएको छ । व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमा निर्माण भइरहेको पुलको काम ४५ प्रतिशत सकिएको छ ।

पूर्वी खण्डमा विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ । सडकतर्फ पनि ६८ प्रतिशत सकिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस