
बिबियु,नारी वाटिका डट्कम
धादिङ -१३ साउन ।
गुरु पुर्णिमा अर्थात आषाढ शुक्ल पूर्णिमा आज । आजको दिन गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ ।
‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश रहेको छ । ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका विभिन्न ग्रन्थहरुमा उल्लेख गरिएको पाइन्छ ।
जिवनको सत्मार्गमा हिड्न सिकाउने र अन्धकारको नाश गरी जीवनमा उज्यालो फैल्याउन ज्ञान,सन्देश शिक्षा,दिक्षा दिने व्यक्तित्वलाई नै गुरु भनिन्छ । उनै गुरुलाई हाम्रो शास्त्रले ब्रह्मा, विष्णु र महेश्वरका रूपमा समेत मानेको छ । धार्मिक ग्रन्थमा भनिएको भनिएकोछ –
गुरुब्रह्मा गुरुविष्णु गुरुदेवो महेश्वरः ।
गुरुः साक्षात् पर ब्रह्म तस्मै श्री गुरवे नमः ।।
माता पिताजस्तै गुरुलाई पनि देवता समान मानी ‘आचार्यदेवो भव’ भनिन्छ ।
गुरु पूर्णिमाका अवसरमा आजको दिन विभिन्न विद्यालय एवम् संस्कृतिक संस्थाहरुले विभिन्न कार्यक्रम गरी शिक्षा, दीक्षा दिने गुरुप्रति श्रद्धाभाव प्रकट गर्ने गरिन्छ।
साथै आजको पुर्णिमा व्यास जयन्ती पनि हो । आजै वेदलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार भागमा विभाजन गरिएको छ । यसको सरल रुपमा अर्थ बुझाउन संस्कृत भाषामा १८ पुराण र १८ उपपुराणको रचना गर्ने वेदव्यासको सम्झनामा आज व्यास जयन्ती मनाईने गरिएको छ ।
यस आषाढ शुक्ल पूर्णिमाकै दिन वेद व्यासको जन्म भएकोले आजकै दिन व्यास जयन्ती मनाउने गरिएको हो । व्यासले पुराण र उपपुराणका माध्यमबाटहाम्रो समाजमा महोत्वपुर्ण सन्देश दिएको छ–
‘अष्टादश पुराणेषु व्यासस्य वचन द्वयम् ।
परोपकार पुण्याय, पापाय परपीडनम्’ ।।
यसको अर्थ अरूको उपकार गरे धर्म हुन्छ एवम् अरूलाई पीडा दिए पाप लाग्छ भनी मानवतावादी सोच राख्न सन्देश दिएको हो । पाँचौँ वेदसमेत भनिने महाभारत पनि व्यासले नै रचना गरेका हुन् । यस अवसरमा आज देशभरका विभिन्न गुरुकुल, शिक्षालय एवं संस्कृतिक संघसंस्थाले विभिन्न साहित्यक मुलक कार्यक्रम गरी गुरु पूर्णिमा मनाउने गर्दछन् ।












प्रतिक्रिया दिनुहोस