आज: २०८३ बैशाख २२, मंगलबार | Tue, 05, May, 2026

आज असार १५, दहिचिउरा खाने दिन साथै राष्ट्रिय धान दिवस पनि

२०८२ अषाढ १५, आईतबार मा प्रकाशित ( १0 महिना अघि) १०५१० पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

काठमाडौँ १५ असार ।

असार १५ आज । प्रत्येक वर्ष आजको दिनलाई दही चिउरा खाने दिनको रुपमा लिईन्छ।

नेपाली परमपरा अनुसार खेत बारीको कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि आजको दिन विशेष रुपमा दही चिउरा खान्छन्। यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिँदै आएको पाईन्छ ।

खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार १५ मनाउँछन्। हाम्रो संस्कृतिमा दहीको महत्त्व धेरै छ। शुभकार्यका लागि घरबाहिर कतै टाढाको यात्रा होस्, विदेश जाने आदि महत्त्वपूर्ण काम गर्नुअघि दही अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा छ।

साथै शुभकाममा निस्कनु अघि सगुनका रूपमा पनि दही खुवाएर बिदाइ गरिन्छ। विबाहमा छोरा वा छोरीलाई अन्माएर विदा गर्ने समयमा दही खुवाएर विदाई गरिन्छ भने यसरी घरबाट साइत गरी निस्किएमा सोचेका कार्य सफल हुने जनविश्वास रहिआएको छ।दही वैज्ञानिक दृष्टिले पनि स्वास्थ्यवर्द्धक मानिन्छ।

आयुर्वेदमा पनि भोजनको अन्त्यमा दही मथेर बनाएको मोही पिएमा औषधि उपचारका लागि स्वास्थ्यकर्मीकहाँ जानु नपर्ने बताइएको छ। भोजनान्ते पिबेत् तक्रं वैद्यस्य किं प्रयोजनम्’ भन्ने जस्ता वाक्य पनि आयुर्वेदमा उल्लेख गरिएको छ। दहीले पाचन शक्ति पनि बढाउँछ।

यसका साथै पखाला लागेका बेला दही चिउरा खाएमा औषधिको काम गर्छ। यसैले दही चिउरा खाने संस्कारले नेपाली संस्कृतिमा बृहद् रूप लिएको छ। यसरी असार १५ गते नेपाली समाजमा राष्ट्रिय सांस्कृतिक पर्व बन्न सफल भएको छ।

साथ साथै सरकारले केही वर्ष अघिदेखी असार १५ लाई धान दिवसका रुपमा लिन थालेको छ । विसं २०६१ मङ्सिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कृषीप्रधान देश नेपाल भएकाले देशका अधिकांश मानिसको पेसा खेतीपाती नै हो ।

किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन् । आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ । ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’जस्ता लोकलयका गीत गाएर खेतमै रमाइलो गरिन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%

प्रतिक्रिया दिनुहोस