
बिबियु,नारी वाटिका डट्कम
धादिङ -२ साउन ।
धादिङका पालिकाहरुले स्वीकृत दरबन्दी बाहेकका अन्य करारका कर्मचारीहरु धमाधम हटाउन थालेका छन् ।
पछिल्लो समयमा संघीय सरकारले करारका कर्मचारीहरु हटाउने भन्ने निती लिएसंगै स्थानीय तहमा पनि पालिकाहरुले पनि दरबन्दी कायम नभएका करारका कर्मचारीहरुलाई हटाउन सुरु गरेका हुन् । यसरी दरबन्दी नभएका कर्मचारीहरु हटाउन सुरु गर्नेमा सिद्धलेक गाउँपालिका र त्रिपुरासुन्दरी गाउँपालिका रहेका छन् । पालिकाहरुले दरबन्दी बाहेकका सबै कर्मचारीहरु हटाउने निर्णय गरेको हो ।
दरबन्दी नभएपनि पालिकाहरुले नयाँ जनप्रतिनिधिहरु चुनाव जितेर आएपछी आफ्ना कार्यकर्ताहरुलाई विभिन्न पदहरु सिर्जना गरी कर्मचारीका रुपमा जागीर दिने गरेका थिए । अब पछिल्लो समयमा संघीय सरकारले स्थानीय तहमा पठाउँदै आएको विभिन्न शिर्षकका बजेटहरु नपठाउने भएपछी निर्वाचित जनप्रतिनिधिहरु आफ्ना मान्छेलाई पालिकामा अनावश्यक रुपमा भर्ति गरिएका ज्यालादारी तथा करारमा कार्यरत कर्मचारीहररुलाई निरन्तरता दिन नसक्ने अवस्था आएको हो ।
पालिकाका प्रमुख प्रशासकीय अधिकृतहरुले सूचना जारी गर्दै बागमती प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०७९ को दफा १६ उपदफा (१) बमोजिम स्थानीय सेवाका कर्मचारीले गर्नुपर्ने कामका लागि कुनै पनि व्यक्तिलाई ज्यालादारी वा करारमा नियुक्त गर्न नपाइने कानुनी व्यवस्था समेत बनाएकोले सोही बमोजिम निर्णय गरिएको उल्लेख गरेका छन्।
साथै सुचना अनुसार गाउँपालिका, वडा कार्यालय तथा स्वास्थ्य संस्थाहरूमा एक वर्षभन्दा बढी समयदेखि ज्यालादारी तथा करार सेवामा कार्यरत कर्मचारीहरूको सेवा २०८३ साउन १ गतेदेखि स्वतः समाप्त हुने उल्लेख गरिएको छ ।
यससंगै उल्लेखित मितिदेखी सेवामा नरहेका कर्मचारीको तलब, भत्ता वा अन्य कुनै सुविधा गाउँपालिकाबाट भुक्तानी नहुने सुचनामार्र्फत जनाइएको छ । कानुन विपरीत कर्मचारीलाई हाजिर गराउने वा कुनै प्रकारको सुविधा उपलब्ध गराएमा त्यसको सम्पूर्ण जिम्मेवारी सम्बन्धित कार्यालय प्रमुख वा पदाधिकारी स्वयंले व्यहोर्नु पर्ने उल्लेख गरिएको छ ।
अन्य पालिकाहरुको हकमा भने हालसम्म कुनै जानकारी गराइएको छैन ।












प्रतिक्रिया दिनुहोस