आज: २०८३ कार्तिक १२, बुधबार | Wed, 28, Oct, 2026

आगमी तिन दिनको मौसमी अवस्थालाई ध्यानमा राखी पदयात्रा नगर्न चेतावनी

२०८३ कार्तिक १२, बुधबार मा प्रकाशित ( १ मिनेट अघि) ३२ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका डट्कम
धादिङ- ११ कात्तिक ।
आजदेखी देशका उच्च पहाडी तथा हिमाली भूभागमा हुन सक्ने मौसमी विपद्को जोखिमलाई मध्यनजर गरी अध्यागमन विभागले तीन दिनसम्मका लागि पदयात्रा गतिविधि रोक्न अनुरोध गरेको छ।

विभागका निर्देशक सूर्यप्रसाद चापागाईंद्वारा हस्ताक्षरित सूचना अनुसार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले कात्तिक १२, १३ र १४ गते उच्च हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा भारी हिमपात साथै हिमआँधी तथा हिमपहिरोको उच्च जोखिम रहेको चेतावनी दिएकोले पदयात्रा लगायतका गतिविधि रोक्न अनुरोध गरेको हो।

विशेषगरी आज रातिदेखी तीन दिनको अवधिमा उच्च पहाडी र हिमाली क्षेत्रका निषेधित स्थानमा पदयात्रामा जाने अनुमतिपत्र जारी नगरिनेसमेत बताएको छ।

विभागले विगतमा मुलुकमा भएका ठुला र बिनाशकारी विपद्का घटनाले हजारौं धनजनको क्षति पुर्याई रहेको बेला विपद्का जोखिमपूर्ण अवस्थालाई ध्यानमा राख्दै पदयात्राका क्रममा यसअघि नै तोकिएका क्षेत्रभित्र प्रवेश गरिसकेका पर्यटकलाई जथाभावी नहिँडी सुरक्षित तथा आश्रयस्थलमा मात्र बस्न सुझाएको छ।

आजबाट हुन सक्ने मौसमको प्रतिकूलताबीच मानवीय दुर्घटना टार्न यो सतर्कता अपनाइएको विभागले जनाएको छ। यस्तै ट्रेकिङ एजेन्सी, पदयात्री, पथप्रदर्शक र सम्बन्धित सबै सरोकारवालाहरूलाई यो सूचनाको कडा रूपमा पालना गर्न र गराउन निर्देशन दिएको हो।

यसका साथै विपद्को जोखिम टरेको आधिकारिक सूचना नआएसम्म हिमाली तथा उच्च पहाडी क्षेत्रको यात्रा पूर्णरूपमा स्थगित गर्न विभागले सबैलाई सचेत गराएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस


↑