
नारी बाटिका
धादिङ,०६ भदौ ।
गजुरी धादिङमा भएको दुर्घटनमा परी मृत्यु भएका ८ मध्य ४ जनाको सनाखत भएको छ । उक्त घटनाको पछिल्लो जानकारी अनुसार वुधबार बिहान करिव ११ःबजेको समयमा गजुरी गाउँपालिका–२ चालिसे स्थित छहराबाट त्रिशूली नदीमा बस खसेर ज्यान गुमाएका ८ जना मध्ये चार जनाको सनाखत भएको हो ।
सनाखत भएका चार जना मध्यका धादिङको गजुरी गाउँपालिका– ८ का अन्दाजी २४र२५ वर्षका शुसिल रम्तेल, जिल्ला म्याग्दीको रघुगंगा गाउँपालिका–३ का ५० वर्षीय थान बहादुर भण्डारी, पर्वतको मोदी गाउँपालिका–१ का १५ वर्षीया कृतिका शर्मा पौडेल र कास्की फुलबारीका अन्दाजी २४र२५ वर्षका सुमन थापा रहेका छन् ।
दुई महिला सहित छ जना पुरुषको दुर्घटनास्थलमै मृत्यु भएको छ । मृतक एकजना महिला र तीन जना पुरुषको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिनु भयो ।
दुर्घटना भएको बसका सहचालक रोशन तामाङका अनुसार १९ जनाले काउण्टरबाट र दुई जनाले ‘इ सेवा’बाट टिकट लिएका थिए । कलङ्कीबाट दुई जना र धादिङको आदमघाटबाट दुई जना पुरुष बसमा चढेका सहचालक तामाङले बताउनुभयो। उहाँ सकुशल रहेका छन् ।
काठमाडौँबाट पोखरा हुँदै म्याग्दीको बेनीतर्फ जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस अनियन्त्रित भई सडकबाट त्रिशूली नदीमा खसेको हो।
प्रहरी प्रमुख उपरीक्षक मिश्रका अनुसार दुर्घटनामा घाइते मध्ये १३ जनाको उपचारका लागि काठमाडौँ पठाइएको छ । एक जनाको राजमार्ग अस्पताल मलेखु र एक जनाको प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा उपचार भइरहेको छ । सहचालक र बागलुङ गलकोटकी ज्ञानु बुढामगर सामान्य रहेका छन् ।
त्रिशुली नदीमा खसेको बस नदीमा डुबेकोले गोताखोरको टोलीले एक जना यात्रु हराइरहेको आशङ्कामा खोजी जारी राखेको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले उद्धार गरेका थिए । विपरीत दिशातर्फ बस खसेकाले साँघुरो सडकमा ‘ओभर्टेग’ गर्ने क्रममा अनियन्त्रित भएको अनुमान छ ।







प्रतिक्रिया दिनुहोस