
यस्ता छन् मुख्य आकर्षण
बिबियु,नारी वाटिका डट्कम
धादिङ -२८ असोज ।
नवलपरासीको पवित्र तीर्थस्थल त्रिवेणी दिव्यधाममा ‘श्रीगजेन्द्रमोक्ष नारायण वैभव विराट महायज्ञ २०८३’ हुने भएको छ । अनन्त श्रीविभूषित मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्य (मुक्तिनाथ बाबा) को पावन सत्संकल्पमा उक्त श्रीगजेन्द्रमोक्ष स्थानमा महायज्ञ आयोजना हुन लागेको हो ।
आयोजकका अनुसार महायज्ञ मार्फत सनातन धर्म, वैदिक सभ्यता, संस्कार, संस्कृति तथा आध्यात्मिक ज्ञानको संरक्षण र प्रवद्र्धन गराई वैश्वीकरणका निम्ती श्री मुक्तिनाथ पीठ वेदविद्याश्रमलाई क्रमशः विशिष्ट महाविद्यालयका रूपमा विकास गर्दै वैदिक ज्ञान, संस्कृत शिक्षा, धर्मदर्शन तथा आध्यात्मिक विषयको अध्ययन अनुसन्धान विस्तार गर्न नमुना वैदिक विश्वविद्यालय स्थापनाको दिर्घकालीन लक्ष्यलाई अघि बढाउने उद्देश्य रहेको महायज्ञ प्रचारप्रसार समितीका संयोजक अच्युतकृष्ण शरणले जानकारी दिए ।
विशाल धनधान्याचल र शास्त्रीय अनुष्ठान मुख्य आकर्षण
महायज्ञको विशेष आकर्षणका रूपमा विशाल धनधान्याचल तथा अष्टाचल स्थापना गरिनेछ । धार्मिक विधिअनुसार निर्माण गरिने धनधान्याचलमा विभिन्न देवीदेवताका मूर्ति स्थापना गरी शिरमा भगवान् श्रीशालिग्राम विराजमान गराउने योजना रहेको आयोजकले जनाएको छ ।
धनधान्याचललाई नेपालका मेचि महाकालीसम्मका विभिन्न देवस्थल तथा तीर्थस्थलको यात्रा गराई अन्त्यमा महायज्ञस्थलमा विधिपूर्वक स्थापना गरिनेछ । अष्टाचलमा तिल, जौ, गहुँ, मकै, चना, मासलगायतका अन्न अर्पण गर्न सकिने व्यवस्था मिलाइनेछ । श्रद्धालु भक्तजनले आफ्नो घरमा उपलब्ध अन्न श्रद्धापूर्वक अर्पण गरी महायज्ञमा सहभागी हुन सक्ने बताइएको छ ।
यस्तै महायज्ञमा चार वेद, उपनिषद्, १८ पुराण, श्रीमद्वाल्मीकीय रामायण, महाभारत, दिव्यप्रबन्ध तथा विभिन्न स्तोत्र लगायतका शास्त्रहरूको पाठपारायण गरिनेछ । श्रीगजेन्द्रमोक्ष स्तोत्र, श्रीविष्णुसहस्रनाम र मूल रामायणको सहस्रावृत्र् पारायण तथा वैदिक वाङ्मय र गोवंश संरक्षण एवं श्रीसमृद्धिको कामनासहित श्रीपञ्चमहालक्ष्मी हवन आराधना पनि गरिनेछ ।
महायज्ञमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त धर्माचार्य, विद्वान् तथा विदुषीहरूबाट धर्माचार्यको प्रवचनदेखि योग, ध्यान र पाँच करोड दीप प्रज्ज्वलन, शास्त्रीय प्रवचन प्रस्तुत गरिने तय गरिएको छ । राष्ट्रिय धार्मिक कलाकारहरूबाट भजन कीर्तन, देवलीला, झाँकी तथा चेतनामूलक नाटक समेत प्रदर्शन गरिने प्रचार प्रशार समितिले जनाएको छ ।
उक्त विशेष अनुष्ठानमा आफ्ना दिवंगत परिवारजन तथा आफन्तका नाममा संकल्प गराउन इच्छुक व्यक्तिहरूले दिवंगत व्यक्तिको फोटो र मृत्यु भएको तिथिमिति महायज्ञ सम्पादन समितिसँग समन्वय गरी उपलब्ध गराउनुपर्नेछ । यस पुण्यकार्यमा सहभागी भई दिवंगत पितृ तथा आफन्तजनको स्मृतिमा श्रद्धा अर्पण गर्न आयोजकले सबैमा अनुरोध गरेको छ ।












प्रतिक्रिया दिनुहोस