आज: २०८३ जेष्ठ ३१, आईतबार | Sun, 14, Jun, 2026

चिसोबाट किसानलाई पशु जोगाउन समस्या

२०८० माघ ८, सोमबार मा प्रकाशित ( २ साल अघि) १५१२८ पटक पढिएको
नारी बाटिका


टीकापुर ८ माघ।

पछिल्लो समयमा तराईका जिल्लाहरुमा चिसो अत्यधिक बढेसँगै जनजीवन प्रभावित हुन थालेको छ। पुस महिनादेखि कैलाली जिल्ला सहित अन्य जिल्लाका मानिस मात्रै हैन पशुपन्छीलाई समेत समस्या देखिएको हो । चिसोका कारण पशु तथा जनावरमा ज्वरो आउने, थर्रथरी काँप्ने र कतिपय गाईवस्तुको मृत्यु समेत हुने गरेको किसानले गुनासो गरेका छन् ।

यतिबेला तराईका अधिकाँश जिल्लामा घाम लागेको छैन भने अर्कोतर्फ शीतलहरले पशुलाई जोगाउन कठिन भएको हो । नलाग्नुका साथै शीतलहरका कारण पशुलाई चरनको समेत समस्या हुन थालेको तराईका कसानहरुले बताएका छन । पशुलाई गोठ बाहिर बाध्न, चराउन लैजान पनि कठिन भएको किसानको गुनासो छ ।

जानकी गाउँपालिकाका किसान रमेश विकको दुईवटा बाख्रा चिसोले मरेका छन् । “बाख्रालाई चिसो लागेपछि जोगाउन सकिएन,चिसोले तीन दिनसम्म आगो बालेर आगोको छेउमा बाधेर राख्यौँ, औषधि पनि खुवायौँ”, उहाँले भन्नुभयो, “तर पनि बचाउन सकिएन । जाडो महिनामा बाख्रालाई आहाराको समेत समस्या हुने गर्दछ ।”

रमेश विकको अन्य बाख्रा पनि घाँस तथा पानी राम्ररी नखाएर दुब्लाउँदै गएका छन् । चिसो बढ्दै गएपछि पशुलाई दाना व्यवस्थापन र न्यायो पार्न कठिनाइ भएको केमन व्यावसायिक गाई फार्मका सञ्चालक किसान चक्र बटालाले बताउनु भयो । “चिसोले हामीजस्ता व्यावसायिक रुपमा पशुपालन गर्नेलाई हैरानी भएको छ ।

मसँग ५० बढी गाई भैँसी छन्, यतिखेर दूध उत्पादन घटेको छ”, बटाले भन्नुभयो, “लामो समय घाम नलागेका कारण लगाएको घाँस पनि वृद्धि भइरहेको छैन, जसले गर्दा पशुलाई पहिलेको तुलनामा आधा आहारामात्र खुवाउनु पर्ने बाध्यता हामीलाई छ ।”

चिसो मौसममा कामदारलाई पनि गाह्रो हुने, पशुमा स्वास्थ्य समस्या देखिने, मर्ने लगायतका समस्या हुने गरेका छन् । “चिसोले एउटा बाख्रा बिरामी भएर म¥यो”, उहाँले भन्नुभयो, “घाम नलागेका कारण गोठ सरसफाइमा समेत समस्या भइरहेको छ ।”

यस्तै मोहन्याल भैँसी फार्मका सञ्चालक दुर्गाप्रसाद जैसीले पनि चिसोले गर्दा दूध उत्पादनमा कमी भएको र पशुलाई आहारा उत्पादनमा समेत समस्या भइरहेको बताउनु भयो । “चिसो मौसम पशुपालनका लागि उपयुक्त समय हैन, यस वर्ष अत्यधिक चिसो भएकाले हामीलाई त हैरानी भएको छ”, उहाँ भन्नुहुन्छ,।

टीकापुर गौशालामा समेत चिसोले पशु जोगाउन समस्या भएको छ । सयौँ पशुचौपाया रहेको गौशालामा गोठ अभावमा समेत समस्या भएको छ । “दिउँसो घाम लागेको भए यति कठिन हुने थिएन, एक महिना पुग्न लाग्यो । पशुले घाम ताप्न पाएका छैनन्, आहारा घटेको छ । चिसोमा पानी कम पिउने हुँदा उनीहरुलाई कुपोषणको समस्या हुन थालेको छ ।”

चिसोबाट पशु जोगाउन ठाउँठाउँमा आगो ताप्ने व्यवस्था मिलाएको र टहरा निर्माण कार्य सुरु गरेको सामुदायिक पशु चौपाया तथा प्रवद्र्धन समितिका अध्यक्ष लोकबहादुर बुढा क्षेत्रीले बताउनु भयो । “करिब पाँच ठाउँमा रातदिन आगो बालिरेहका छौँ, नत्र पशु जोगाउन सकिँदैन”, उहाँले भन्नुभयो, “महायज्ञबाट उठेको रकमबाट गाई बस्ने गोठ निर्माण कार्य पनि सुरु भएको छ ।”
“दुधालु गाईबस्तुमा प्रोटिन, ऊर्जा र कुपोषण सम्बन्धी समस्या देखिने जोखिम हुन्छ”, पशु सेवा शाखा टीकापुरका प्रमुख श्यामराज पाण्डेले भन्नु भयो, “चिसोबाट जनावरलाई जोगाउन उचित प्रबन्ध गर्नुपर्छ ।” उहाँले चिसो मौसममा उत्पादनमा ह्रास आउने, पशु बिरामी हुने समस्या हुने भएकाले न्यायो पार्ने, तातोपानी खुवाउने, पोषण युक्त आहारामा ध्यान दिन सुझाव दिनु भयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%२%

प्रतिक्रिया दिनुहोस