
नारी बाटिका
नवलपुर २७ पुस ।
पूर्वपश्चिम राजमार्गको नवलपरासी पूर्व नवलपुरको दुम्किबासमा पुल भाँचिदा सडक अवरुद्ध भएको छ । सुक्रबार उक्त पुल भाँचिएर सडक अवरुद्ध भएपछी रोकिएका सवारीहरुलाई वैकल्पिक मार्ग प्रयोग गरी सञ्चालनमा ल्याइएको हो। नवलपरासी जिल्लाको विनयी त्रिवेणी गाउँपालिका दुम्किबासस्थित विनयी खोलामा रहेको पुल शुक्रबार साँझ भाँचिएर यातायात सञ्चालन पूर्णरूपमा रोकिएको थियो।
उक्त पुल पूर्णरूपमा भाँचिएर क्षति पुगेपछि यातायात अवरूद्ध हुँदा रोकिएका सवारीलाई वैकल्पिक मार्गको प्रयोग गरी सञ्चालनमा ल्याइएको नवलपरासी पूर्वका प्रमुख जिल्ला अधिकारी अरूण पोख्रेलले जानकारी दिए। रोकिएका सवारीलाई वैकल्पिक मार्गको प्रयोगबाट गन्तव्यतर्फ पठाउने काम सुरू गरिएको प्रजिअ पोखे्रलको भनाई छ।
‘साथै उक्त पुल तत्काल मर्मत गर्न सम्भव नभएकोले डाइभर्सन निर्माणको काम नहुँदासम्मका वैकल्पिक मार्गको प्रयोग गरी रोकिएका सवारीलाई गन्तव्यतर्फ पठाउने काम गरिएको छ,’ प्रमुख जिल्ला अधिकारी पोख्रेलले जानकारी दिनु भयो।
सो पुल हुंदै गुड्ने सवारीलाई विनयी त्रिवेणी–२, ज्यामिरे भित्रीबाटो प्रयोग गरी त्रिवेणी क्रसर हुँदै गुम्बाचोकस्थित राजमार्गमा निस्कने व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी पोख्रेलले बताउनु भयो। तर करिब पाँच किलोमिटर घुम्नुपर्ने यो बाटोबाट साना सवारीलाई मात्रै वारपार गराइएको छ।
ठूला सवारीसाधन सञ्चालनको लागी भने दोस्रो बाटोको रूपमा ज्यामिरे पेट्रोलपम्प नजिकैबाट सिजी चोक–डाँडाजोर–होङ्सी गेट हुँदै करिब १८ किलोमिटर घुमेर राजमार्ग पुग्ने गरी व्यवस्था गरिएको बताउनु भयो।
रातिको समयमा पुल भाँचिएका कारण पुल नजिकै डाइभर्सन निर्माण गरी तत्काल यातायात सञ्चालन गर्न कठिन रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले बताएको छ । यस्तै विनयी खोलामा बनेको दुई सय ४६ मिटरको पुल पूर्णरूपमा क्षति पुगेको छ।
कृष्णनगर भन्सारबाट छुटेको एन एल ०१ ए एच ५१६९ नम्बरको शिवम् सिमेन्टको सामान बोकेको ६० टन क्षमताको ट्रक पुल पार गर्ने क्रममा बीच भागबाट नै पुल भाँचिएको थियो। ट्रक पुलको बीच भागमा नै अड्किर बसेको छ।








प्रतिक्रिया दिनुहोस