आज: २०८२ मंसिर २२, सोमबार | Mon, 08, Dec, 2025

आज छठ पर्व, साँझ अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य दिइँदै

२०८२ कार्तिक १०, सोमबार मा प्रकाशित ( १ महिना अघि) ३०७० पटक पढिएको
नारी बाटिका


बिवियु,नारी वाटिका संवाददाता

धादिङ -१०कार्तिक ।

कार्तिक शुक्ल षष्ठी तिथिमा छठ पर्व। आज सोमबारका साँझ अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य दिइ यस पर्वलाई धुमधामका साथ मनाईँदैछ। विशेषगरी मिथिलाञ्चल स्थायी बसोबास भएका समुदायले श्रद्धा र निष्ठाका साथ यो पर्व मनाउँदै छन्।

सनातन धर्मकै विधिमा ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भए अनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवको आराधना गरिएको थियो। त्यस समयमा पाण्डवहरु विराट राजाको दरबारमा बास बसेको उल्लेख छ। धार्मिक मान्यता अनुसार त्यसै समयदेखि छठपर्व मनाउने परम्परा चलि आएको हो।

सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत बसेकी र उनले यसै व्रतका प्रभावले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरेकी हुनाले त्यही बेलादेखि ‘छठ पर्व’
मनाउने परम्पराको शुरुआत भएको बताइन्छ। मुख्य दिन शुक्ल षष्ठी भए पनि छठ चतुर्थीदेखि सप्तमीसम्म मनाइने गरिन्छ।

​यो व्रत बस्दा कार्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी,शुद्ध भई एक छाक खाएर बस्ने गरिन्छ। दोस्रो दिन पञ्चमीमा सख्खर हालेर बनाइएको खीर (खरनां) षष्ठी मातालाई चढाई प्रसादका रुपमा खाईन्छ।

यो पर्वको मुख्य दिन आज कार्तिक शुक्ल षष्ठीका दिनमा कठोर निराहार व्रत बसी बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिने गरिन्छ। षष्ठीका दिन रातभर जागा बसी कार्तिक शुक्ल सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य दिएपछि मात्रै यो पर्व समापन हुन्छ।

यस संगै कार्तिक शुक्ल पक्षमा विधिपूर्वक सूर्यको पूजा आराधना गरी अर्घ्य दिएमा चर्म (छाला)मा लाग्ने रोग लाग्दैन भन्ने धार्मिक विश्वास छ।

विशेषगरी मिथिलाञ्चलको महान् पर्व छठ अहिले तराई मधेशभर मात्र नभई काठमाडौं उपत्यका लगायका स्थानमा समेत धुमधामसहित मनाइन्छ। छठ पर्वका लागि राजधानीको गुह्येश्वरीबाट गौरीघाट क्षेत्र, कमलपोखरी, बागमती, नख्खु र विष्णुमती लगायतका नदी किनारमा सजावट गरिएको छ।

साथै छठका अवसरमा सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस