आज: २०८३ अषाढ १३, शनिबार | Sat, 27, Jun, 2026

उपत्यकामा बर्डफ्लूको महामारी, एघार जिल्लाका ८२ स्थानमा फैलियो

२०८३ अषाढ १३, शनिबार मा प्रकाशित ( ३ घण्टा अघि) ५२८ पटक पढिएको
नारी बाटिका


बिवियु,नारी वाटिका डट्कम
धादिङ- १३ असार ।
पछिल्लो तीन महिनादेखी काठमाडौं उपत्यकामा बर्डफ्लू एच(फाइभ एन(वान) संक्रमण फैलिँदै आएकोमा हाल तीव्रगतिमा महामारीको रुप लिएको छ ।

पशुसेवा विभागका अनुसार हालसम्म देशभरमा ११ जिल्लाका ८२ स्थानमा संक्रमण फैलिएको पुष्टि गरिएको हो । रोग नियन्त्रणका लागि प्रभावित क्षेत्रमा विशेष सतर्कता अपनाइएको भएपनि बर्डफ्लू सक्रमणले महामारीको रुप लिएको छ ।

सुरुमा गत चैत ४ मा मोरङमा पहिलोपटक पुष्टि भएको बर्डफ्लू रोग विस्तारै झापा, सुनसरी, महोत्तरी, बारा, चितवन, नवलपरासी, काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोक जिल्लासम्म संक्रमण फैलिएको अवस्था छ ।

पशुसेवा विभागका महानिर्देशक उमेश दाहालका अनुसार संक्रमण नियन्त्रणको लागी हालसम्म पाँच लाख ६९ हजार ८५८ वटा पन्छी नष्ट गरिसकिएको छ । साथै नौ लाख ८९ हजार ३१३ वटा अण्डा र एक हजार ९५४ दशमलव ८५ क्विन्टल कुखुराले खाने दानासमेत नष्ट गरिएको जनाइएको छ ।

अन्यन्त्र सक्रमण नफैलियोस भनेर पशुसेवा विभागले उपमहानिर्देशकको नेतृत्वमा ‘बर्डफ्लू रोग नियन्त्रण कक्ष’ स्थापना गरी संघ, प्रदेश र स्थानीय तहसँग समन्वय गर्दै प्रभावित क्षेत्रमा प्राविधिक टोली परिचालन गरेको बताएको छ ।

हालसम्म कोशी प्रदेशका झापा, मोरङ र सुनसरीसँगै बारा, महोत्तरी, चितवन र नवलपरासीमा संक्रमण नियन्त्रणमा आएको छ भने काठमाडौं, ललितपुर, भक्तपुर तथा काभ्रेपलाञ्चोकका केही स्थानमा संक्रमण अझै देखिइरहेकाले विशेष निगरानी बढाइएको विभागले जनाएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँगको सहकार्यमा संक्रमित भाइरसमा कुनै आनुवंशिक परिवर्तन (म्युटेसन) भएको छ वा छैन भन्ने यकीन गर्न भाइरसको जिन अनुक्रमण प्रक्रिया पनि सुरु गरिएको विभागले जनाएको छ ।

नियन्त्रणका लागी किसानलाई फार्ममा जैविक सुरक्षा (बायोसेक्युरिटी) का मापदण्ड पालना गर्न, पुराना अण्डाका क्रेट पुनःप्रयोग नगर्न, ढुवानीका साधन पूर्ण रूपमा निसंक्रमण गरेर मात्र फार्मभित्र प्रवेश गराउन तथा जंगली पन्छीसँग घरपालुवा पन्छीको सम्पर्क हुन नदिन आग्रह गरेको छ ।

यसका साथै पन्छीजन्य उत्पादनको ओसारपसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिन, नियमित खोप लगाउन तथा कुनै फार्ममा अस्वाभाविक रूपमा धेरै पन्छी बिरामी भई वा मरेमा तत्काल नजिकको पशुसेवा कार्यालयमा जानकारी गराउन विभागले अनुरोध गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस