आज:  | Fri, 03, May, 2024

आज हरिशयनी एकादशी घर घरमा तुलसीको बिरुवा सारिदै

१४ असार २०८०, बिहीबार ०८:२३ मा प्रकाशित ( १0 महिना अघि) ७१९ पाठक संख्या
नारी बाटिका


काठमाडौं १४ असार, ।

आज तुलसीको बिरुवा सार्ने दिन अर्थात हरिशयनी एकादशी घरघरमा तुलसीको बिरुवा सारेर पुजा आजा गरी मनाइदै छ । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन हिन्दुधर्मालम्विीहरुले घर(घरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु हुँदैछ ।

आज भन्दा एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिन घर घरको तुलसी मोठमा राखिएको तुलसीको बिरुवा आजका दिन तुलसी मोठमा सारिन्छ र विधिपुर्वक पुजाआजा गरिने प्रचलन रही आएको छ । सनातन वैदिक परम्परा अनुसार तुलसीलाई विष्णुको प्रतीकका रुपमा मानिने गरिन्छ । आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म विहानै उठी नुवाइधुवाइ गरी खालीपेटमा शुद्ध भएर तुलसीको विशेष पूजा गर्ने गरिन्छ ।

आजैका दिन अर्थात आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान् विष्णु क्षीरसागरमा शयन गर्नुहुने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा डा देवमणि भट्टराई बताउँनु हुन्छ ।

झारको रुपमा धर्तीमा रहेर भगवान् विष्णु शयन गर्नुहुने चार महिनालाई चतुर्मासा पनि भनिन्छ । यस वर्ष भने साउन महिनामा अधिकमास परेकाले पाँच महिना हुने भएको छ ।

पात्रो अनुसार एक वर्षमा २४ एकादशी पर्दछन् । यस वर्ष भने अधिकमासका दुई समेत गरी २६ एकादशी परेका छन् । सक्नेले सबै एकादशीमा अन्न,माछामासु,बिटलो खानेकुरा केही नखाई फलाहार मात्रै गरेर व्रत बस्छन् । नसक्नेले चतुर्मासाका चार महिनामा पर्ने आठ एकादशीमा व्रत बस्ने गर्छन् ।

वृद्धवृद्धा,अशक्त,बालबालिका,सुत्केरी,गर्भवती तथा कामकाजमा सक्रिय हुनुपर्ने र चार महिनासम्म पनि फलाहार गर्न नसक्नेले भने हरिशयनी एकादशी र हरिबोधिनी एकादशीका दिन फलाहार गरी व्रत बस्ने गर्छन् । हरिशयनी एकादशीका अवसरमा आज बिहानैदेखि राजधानीको बूढानीलकण्ठ, उपत्यकाका चार नारायण लगायत देशभरका नारायण एवं विष्णु मन्दिरमा भक्तजनको भीड लाग्ने गर्दछ ।

एकादशीका दिन विशेष गरी चामलबाट बनेका परिकार नखाने रोटी, ढिँडोलगायत फलाहार गर्ने गरिन्छ । त्यस्तै वैज्ञानिक रुपमा पनि बढी अक्सिजन पाइने प्रमाणित भएको तुलसी विभिन्न रोगका लागि औषधिका रुपमा समेत प्रयोग गर्ने गरिन्छ ।

धार्मिक मुल्यमान्यता मात्रै नभएर विज्ञानले पनि तुलसीको मोठ भएका स्थानमा रोग सार्ने विषालु प्रकारका कीटाणु नआउने विश्वास समेत गरिन्छ । वास्तु दोष भएका स्थानमा तुलसीको मोठ राख्नाले सकारात्मक फल प्राप्त हुने मान्यता रही आएको छ । तुलसी भएका स्थानमा शुद्ध हावा बहने तथ्य समेत वैज्ञानिक रुपमै पुष्टि भई सकेको छ ।

चार महिनासम्म विधिपूर्वक पूजा आराधना गरिएको तुलसीलाई कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन भगमान दामोदर सँग विवाह गरिदिने वैदिक विधि रही आएको छ । तुलसी र दामोदरको विधिपूर्वक विवाह भइसकेपछि अग्नि स्थापना विधिबाट चतुर्मासा व्रतको उद्यापनका लागि हवन गर्ने गरिन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस