आज:  | Mon, 29, Apr, 2024

डेंगुका सक्रमित देशभरिनै फैलदै ४ हजार भन्दा बढी विरामी र ३ जनाको मृत्यु

९ श्रावण २०८०, मंगलवार १९:३६ मा प्रकाशित ( ९ महिना अघि) ४८० पाठक संख्या
नारी बाटिका


काठमाडौं,९ साउन ।

केही दिन यता उकालो लागेको डेंगुका सक्रमितहरुको संख्या ४ हजार भन्दा बढी विरामी र ३ जनाको मृत्यु भएको छ । गएको हप्ता हेरी यो साता झनै देशमा डेंगुका विरामीको संख्या बढेको छ। आज (मंगलबार) डेंगुका विरामीको संख्या ४ हजार नाघेको छ भने यो साता सम्म ३ जनाको मृत्यु भई सकेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को तथ्यांङ्क अनुसार अघिल्लो सातासम्म २ हजार ९३० रहेको डेंगुका विरामीको संख्या आज मंगलबार सम्ममा ४ हजार २८९ जना पुगेको हो।

यही हप्तामा मात्रै डेंगुबाट ३ जनाको मृत्यु भएको र तीनै जना सुनसरीका भएको ईडीसीडीका निर्देशक डा रुद्र मरासिनीले जानकारी दिनु भयो । ईडीसीडीको विवरण अनुसार हालसम्म यो वर्ष कोशी प्रदेशमा डेंगुका बिरामी धेरै भेटिएका छन्। कोशी प्रदेशमा हालसम्म डेंगुका विरामीको संख्या २ हजार ७५४ जना पुगेको छ।

यस्तै अघिल्लो सातासम्म कोशी प्रदेशमा १ हजार ७४६ जना डेंगुका विरामी थिए। एक सातामा कोशी प्रदेशमा मात्रै १ हजार जना भन्दा बढी विरामी थपिएको महाशाखाको विवरणमा उल्लेख गरिएको छ । गण्डकी प्रदेशमा ३४४ जना विरामी रहेका छन्। अघिल्लो साता गण्डकी प्रदेशमा २६९ जना विरामी थिए। अघिल्लो सातासम्म ४६८ जना विरामी रहेको बाग्मती प्रदेशमा हाल विरामीको संख्या ६६७ पुगिसकेको छ।

यस्तै अघिल्लो साता विरामीको संख्या २७९ रहेको सुदूरपश्चिम प्रदेशमा ३१६ जना डेंगुका विरामी पुगेका छन् । लुम्बिनी प्रदेशमा डेंगुका विरामीको संख्या १६६ जना छ। कर्णाली प्रदेशमा सबैभन्दा थोरै २० जना विरामी र मधेश प्रदेशमा २२ जना विरामी रहेका छन्। जिल्लागत रुपमा हेर्दा असारयता कोशी प्रदेशको सुनसरीमा सबैभन्दा धेरै विरामीको संख्या २ हजार ५४२ जना रहेको छ। अघिल्लो साता सुनसरीमा १ हजार ५७१ जना विरामी थिए ।

ईडीसीडीको तथ्यांकअनुसार पछिल्लो समय सुनसरीमा डेंगुले उग्र रुप लिएको छ। महाशाखाका निर्देशक डा मरासिनीका अनुसार यस वर्ष देखिएको डेंगुको प्रकोप मध्ये ८५ प्रतिशत विरामीको संख्या १० वटा जिल्लामा रहेको छ । ईडीसीडीको विवरण अनुसार सुनसरीपछि हाल धादिङमा सबैभन्दा धेरै ४०१ जना डेंगुको शंकास्पद विरामीको रिपोर्ट आएको छ। अघिल्लो सातासम्म धादिङमा २५८ जना संक्रमित रहेका थिए। विरामीको संख्या दार्चुलामा १९० जना र कास्कीमा २०५ जना पुगेको छ।

त्यस्तै काठमाडौंमा पनि यो साता डेंगुका विरामीको संख्या बढेको छ। अघिल्लो सातासम्म ४६ जना मात्र रहेको विरामीको संख्या काठमाडौंमा हाल ८० जना पुगेको छ। संक्रमितको संख्या बढेपनि विरामीको संख्या १०० जना ननाघेका जिल्लाहरुमा रुपन्देही ४५, मोरङ ३८, संखुवासभामा ६४, भक्तपुरमा ३५, कन्चनपुरमा ५२, म्याग्दीमा ५४ जना रहेका छन्।

गत वर्ष महामारीकै रुप लिएर डेंगु फैलिएको ललितपुर जिल्लामा भने यो वर्ष जम्मा २९ जना भएको महाशाखाले जनाएको छ। नयाँ विरामीमध्ये ८२ प्रतिशत बिरामी १० जिल्लाका रहेका छन् । पानी परेसँगै पानी जम्ने र जमेको पानीमा लामखुट्टेका लार्भा बढ्न थालेर संक्रमण दिनानुदिन बढिरहेको छ। पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्छ‚ ती फुल लार्भा बन्छन् र त्यही लार्भा वयस्क भएपछि मानिसलाई टोकेपछि डेंगु फैलिन्छ ।

महाशाखाको अनुमानमा असारदेखि बढ्दै जाने र भदौ र असोजमा उच्च हुने प्रक्षेपण गरिएको छ। अघिल्लो वर्ष साउनदेखि कात्तिकसम्म काठमाडौं उपत्यका सहित देशभर डेंगु तीव्र गतिमा फैलिएको थियो। त्यसबेला ५४ हजार ७८४ जना डेंगुबाट विरामी भएका थिए। संक्रमणकै कारण ८८ जनाले ज्यान समेत गुमाएका थिए ।

गएको वर्ष काठमाडौंमा सबैभन्दा धेरै १४ हजार ३७६ जना डेंगुबाट विरामी पुष्टि भएका थिए। नेपालमा यसअघि पनि सन् २०१० मा तराईका रूपन्देही, नवलपरासी लगायतका जिल्लामा डेंगुले महामारीको रूप लिएको थियो। नेपालमा पहिलो पटक सन् २००६ मा चितवनमा डेंगु पुष्टि भएको थियो।

नेपालमा हाल डेंगुका ४ वटा ‘सेरोटाइप्स’ पुष्टि भएको छ। जसमध्ये हालसम्म १ र २ बाट धेरै जना विरामी भएको महाशाखाले जनाएको छ। चिकित्सकका अनुसार एउटै व्यक्तिलाई डेंगुको फरक फरक सेरोटाइप्सको संक्रमण भए यसको असर निकै गम्भीर हुन सक्ने जनाएका छन् ।चिकित्सकले डेंगु लागेका ८० प्रतिशत मानिसमा कुनै लक्षण नदेखिने वा कम देखिने बताएका छन्। कडा लक्षण भएकामध्ये ८० प्रतिशत आफैँ निको हुने र २० प्रतिशतलाई अस्पतालमा आएर उपचार गर्नुपर्ने चिकित्सकहरुको भनाई रहेको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस