आज:  | Thu, 16, May, 2024

 मंगलबार वडादशैं नवरात्रको तेस्रो दिन, चन्द्रघण्टा देवीको उपासना मनाईयो

१ कार्तिक २०८०, बुधबार १०:१४ मा प्रकाशित ( ७ महिना अघि) ३२२ पाठक संख्या
नारी बाटिका


१ कात्तिक ।

मंगलबार वडादशैं नवरात्रको तेस्रो दिन, माता चन्द्रघण्टा देवीको उपासना तथा पुजा अर्चना गरि मनाइएको छ । वडादशैं नवरात्रको तेस्रो दिन दसैंघर तथा नेपालीको घर घरको पूजा कोठामा नौ दुर्गा मध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजाराधना गर्ने गरिन्छ । देवी चन्द्रघण्टालाई माता पार्वतीको रुपमा सौन्दर्य अवतार पनि मानिन्छ ।

पिण्डजप्रवरारुढा चण्डकोपास्त्रकैर्युता ।
प्रसादां तनुते मह्यं चन्द्रघण्टेति विश्रुता ।।

नौ दुर्गा मध्यकी शक्ति पिठ माता चन्द्रघण्टा देवीको शीरमा घण्टा आकारको अर्धचन्द्र हुने भएकाले देवीलाई चन्द्रघण्टा भनिएको हो । बाघलाई वाहन बनाई १० हातमा खड्ग, बाण, त्रिशूल आदि अस्त्रशस्त्रले सुसज्जित देवी चन्द्रघण्टाको स्वरुप शान्तिदायक र काल्याणकारी रहेकी छिन् ।

नव दुर्गामाता देवीको शक्तिले असत्यको नाश र सत्यको रक्षाको लागि देवीले चन्द्रघण्टाको रुप धारण गरेको श्रीमद् देवीभागवत पुराणमा उल्लेख गरिएको छ । शारीरिक तथा मानसिक कष्टबाट छुट्कारा पाउन चन्द्रघण्टा देवीलाई पूज्ने गरिन्छ ।

उहाँको पुजाविधि अनुसार पुजाआरधना गर्दा चन्द्रघण्टा देवीलाई दुध अथवा दुधबाट बनेको परिकारहरू चढाउने चलन छ । दुधका परिकारहरू चढाउँदा देवी प्रशन्न हुने जन विश्वास रहेको छ । नवरात्रको अवधिभर पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैठौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजाआराधना गर्ने गरिन्छ ।

यसैगरी दशैंको नवरात्रभर देशका विभिन्न शक्तिपीठहरूमा दर्शन गर्न भक्तजनको घुईचो लाग्ने गर्छ । विशेषगरी काठमाडौंको नक्साल भगवती, शोभा भगवती, भद्रकाली, काभ्रेको नाला भगवती, काभ्रेकै पलाञ्चोक भगवती मन्दिर, ताप्लेजुङको पाथीभारा, धरानको दन्तकाली, गोरखाको मनकामना, सप्तरीको छिन्नमस्ता, पोखराको विन्ध्यावासिनी, भोजपुरको सिद्धकाली मन्दिरमा विशेष पूजाआराधना हुने गर्दछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस