
नारी बाटिका
बेनी ८ वैशाख ।
म्याग्दीको रघुगंगा गाउँपालिका–७, चिमखोलामा टिपर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । साथै उक्त दुर्घटनामा परी तीनजना घाइते छन् ।आज (शनिबार) बिहान जलविद्युत् आयोजनाको सिमेन्ट ढुवानी गरेर घ्यासीखर्कबाट जाँदै गरेको लु२ख ६११२ नम्बरको टिपर चिमखोलाको घैराबारीस्थित सडकबाट खसेर दुर्घटना भएको हो ।
दुर्घटनामा परी मृत्यु हुनेमा सवारीसाधन र निर्माण उपकरणको मर्मत गर्ने मिस्त्री (कामदार( भएको खुले पनि नाम र ठेगाना भने अझै नखुलेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
टिपर दुर्घटनामा घाइते भएका चालक सहित तीन जनाको चिमखोला स्वास्थ्य चौकीमा प्रारम्भिक उपचार गरिएको छ । थप उपचारका निम्ति घाइतेलाई हेलिकोप्टर मार्फत पठाउने तयारी भइरहेको रघुगंगा–७ का वडाध्यक्ष थकबहादुर पाइजाले बताएका छन् ।
दुर्घटनामा परेको टिपर तुन्दी पावर कम्पनी जलविद्युत् आयोजनाको ठेकेदार कम्पनी रामेछाप शेर्पा कन्स्ट्रक्सनमा निर्माण सामग्री ढुवानी गर्ने रहेको खुले पनि मृतक र घाइतेको पहिचान नखुलेको वडाध्यक्ष पाइजाले बताए ।
दुर्घटनामा परेका घाइतेको स्थानीय, प्रहरी र नेपाली सेनाको टोलीले उद्धार गरी चिमखोला स्वास्थ्यचौकीमा उपचारका निम्ति पुर्याएका थिए ।








प्रतिक्रिया दिनुहोस