
बिबियु,नारी वाटीका डट्कम
धादिङ २६ भदौ ।
प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन कुशेऔंशी मनाइन्छ । वैदिक सनातन धर्मावलम्बीले आज वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर कुशेऔँशी मनाउँदैछ।
शास्त्रोक्त विधिमा बताइए अनुसार ब्राह्मणद्वारा पूजा गरी मन्त्र जप्दै उखेलेर जजमानको घर घरमा पुर्याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास रही आएको छ । यस्तै वर्षैभरी घरमा गरिने पितृ तथा देव कार्यमा त्यही कुश प्रयोग गरिन्छ ।
त्यसैगरी आजको दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरू दिन उखेलिएको कुश त्यसै दिनमात्र प्रयोग हुने भएकोले पनि कुशेऔंशीको शास्त्रीय मान्यता रहेको प्रा.डा.देवमणि भट्टराई बताउनु हुन्छ ।
सत्तेयुगमा पतिब्रता वृन्द्धाले भगवान विष्णुलाई कुश, तुलसी, पीपल र शालिग्राम भई रहन परोस भन्ने श्राप परेको हुनाले यी चार चिजलाई भगवान् विष्णुको प्रतीकका रुपमा पुज्ने गरिएको हो।
सृष्टिकर्ता ब्रह्माजीले विवेकशील प्राणीसँगै पवित्र कुश पनि उत्पन्न गरेको धार्मिक विश्वास रहेको छ । तर पछिल्लो समयमा आजको दिनलाई बाबुको मुख हेर्ने प्रचलन पनि सुरु भएको छ । आज छोराछोरीले आ आफ्ना जिबित बाबुलाई मन पर्ने मिठाइ तथा भोजन खुवाइ आदर सम्मान प्रकट गर्दछन् ।
खासगरी आफ्ना बाबु नहुनेहरूले भने विभिन्न पवित्र तिर्थ स्थलमा गई आफ्ना बाबुको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिने परपरा छ ।
आजको दिन विशेषगरी काठमाडौंको उत्तरपूर्वी भेगस्थित(उत्तरगया) गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष रुपमा आफ्ना पितृका नाममा तर्पण दिने तथा श्राद्ध गर्ने गरिन्छ ।
यसैले आजको औँसीलाई गोकर्णे औँसीका नामले चिनिन्छ । यस अवसरमा गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवङ्गत बाबुको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्नेको घुइँचो लाग्दछ ।
यसैगरी दिवङ्गत भएका पिताहरूलाई तर्पण, सिदादान र पिण्डदान गर्नको लागी नुवाकोटको बेत्रावती नदीलाई अझै विशेष पवित्र स्नानको रुपमा लिने गरिएको छ । ।
तर यस वर्ष भोटेकोशी बाढीका कारण हजारौं नागरिकले ज्यान गुमाएका छ भने सो स्थानमा बाढी नदीको धार नै परिवर्तन गर्नुका साथै त्यहाँसम्म पुग्ने सडक समेत क्षतिग्रस्त अवस्थामा रहेकोले बेत्रावतीमा मेला लाग्ने–नलाग्ने निश्चित भएको छैन ।
‘पितृदेवो भव’ भन्ने धार्मिक मान्यता अनुरूप यस दिन छोराछोरीले आफ्ना जीवित बाबुलाई श्रद्धापूर्वक रुचि अनुसारको खाना खुवाई आशीर्वाद प्राप्त गर्ने तथा मृत्यु भइसकेका बाबुको नाउँमा तीर्थस्थलमा गई तर्पण तथा सिदादान गरेमा पुण्य मिल्नाका साथै आफ्नो कुल स्थिर हुने ‘बुद्धोक्त पाराजिकाय’ नामक धर्मग्रन्थमा उल्लेख छ ।












प्रतिक्रिया दिनुहोस