आज: २०८३ भाद्र २९, सोमबार | Mon, 14, Sep, 2026

आज हरीतालिका तिज नीराहार ब्रत बसी हिन्दु नारीहरुले श्रीमहादेवको पुजा आरधना गरी मनाउँदै

२०८३ भाद्र २९, सोमबार मा प्रकाशित ( ७ मिनेट अघि) ३४२ पटक पढिएको
नारी बाटिका


बिबियु, नारी वाटीका डट्कम
धादिङ २९ भदौ ।

आज हिन्दू धर्मावलम्बी नारीहरूले श्रीमहादेवको पूजा–आराधना गरी हरितालिका तीज मनाउँदैछन्। हरेक वर्ष भाद्र शुक्ल पक्षको तृतीया तिथिका दिन हिन्दु धर्ममा विस्वास राख्ने नेपाली नारीहरुले नीराहार रुपमा हरितालिका तिजको ब्रत भगवान शंकर भोले बाबाको पुजा आरधना गर्ने परम्परा छ।

महर्षि आपस्तम्बले उल्लेख गरे अनुसार चतुर्थीसहितको तृतीया तिथि परेको दिन तिजका ब्रतका लागि उत्तम फलदायक मानिन्छ। द्वितीया तिथिसँग योग भएको दिन भने हरितालिका (तिजको) ब्रत बस्नु उचित नहुने बताइएको छ ।

आजको विशेषगरी दिन विवाहित महिला पतिको दीर्घायु र अविवाहित महिला सुयोग्य वरको कामना गर्दै तिजको ब्रत बस्ने गर्दछन्। शास्त्रीय मान्यता अनुसार महिला र पुरुष दुवैले यो ब्रत बस्दा उत्तम मानिन्छ । तर नेपाली समाजमा भने केही वाहेक समग्र रुपमा लिनु पर्दा पुरुषले खासै तिज लगायत अन्य ब्रतलाई पनि शुद्ध भई भोको बसेर गर्ने धार्मिक कार्यमा अलि दुख हुने भएकोले खासै रुचि राख्दैनन् ।

महिलाले मात्र श्रीमान्‌को दीर्घायुको कामना गर्दै व्रत बस्ने परम्परा नेपाली समाजमा स्थापित छ। भाद्र शुक्ल तृतीयाका दिन ब्रत बसी शिव–पार्वतीको पूजा र उपासना गर्नाले सुख, शान्ति तथा कल्याण प्राप्ति हुने धार्मिक विश्वास रही आएको छ।

सत्ययुगमा हिमालयपुत्री पार्वतीले यसै तिथिका दिन गौरीघाटमा कठोर तपस्या गरी महादेवलाई पतिको रूपमा पाउने वरदान पाएकी थिइन्। पिता हिमालयले उनको इच्छाविपरीत भगवान् विष्णुसँग विवाह गरिदिन खोजेपछि पार्वतीले आफ्ना सखीहरूलाई उक्त समस्या सुनाएकी थिईन् ।

त्यसपछी यसै हरीतालिका तिजका तिथिमा देवी पार्वतीले साथीहरूले लुकाएर राखेका ठाउँ गौरीघाटमा बसेर कठोर तपस्या गरी निराहार ब्रत बसेर महादेवलाई पतिका रूपमा प्राप्त गरेकी थिईन्।

यसरी साथीहरूद्वारा देवी पार्वती हरण गरी तपस्यामा लगेको दिन भाद्र शुक्ल तृतीया परेकाले सोही समयदेखि हरितालिका तीजको व्रत बस्ने प्रचलन सुरु भएको धर्मशास्त्रीय मान्यता छ। आज तिजको अवसरमा महिलाहरू मठ मन्दीर,चौतारा, तथा आफुलाई पायक पर्ने स्थानमा भेला भई खुसीयालीका साथ तिजका गित गाएर नाचगान गर्ने गर्छन्। तीजका गीतमा पनि विशेषगरी भगवान्‌को भक्तिगाथाका साथै महिलाका आन्तरिक पीडा र मनोभावना अभिव्यक्त गरेका हुन्छन्।

संस्कृत भाषाका ‘हरित’ र ‘आलिका’ दुईवटा शब्द मिलेर ‘हरितालिका’ शब्द बनेको छ। जसमा ‘हरित’ शब्दको अर्थ हरण गरिएको र ‘आलिका’ शब्दको अर्थ साथी वा सखी भन्ने रहेको छ।

सत्ययुगमा आजकै दिन निराहार व्रत बसेर माता पार्वतीले महादेवलाई स्वामीका रूपमा प्राप्त गरेकी हुनाले यस दिन व्रत बस्दा सम्पूर्ण मनोकामना पूरा हुने धार्मिक विश्वास छ।

तर यसरी हरितालिका तीजको व्रत निराहार पानी पनि )नखाई(, तिजका दिन ब्रत बस्नाले रोगी,तथा कमजारी महिलाहरु तथा अन्य महिलाहरु पनि उच्च रक्चाप भएर शक्त बिरामी पर्ने गरेका छन् । कोही बेहोस भएर बाटोमै ढलेको पाईन्छ ।

अन्य ब्रतको तुलनामा तिजको ब्रत निकै कठिन र आज दिनभर पानी पनि नखाई ब्रत बसी एकै पटक भोली बिहान स्नान गरी शुद्ध भएर मात्रै अन्न खाने प्रचलन छ । तर यसरी बसेको नीराहार ब्रतले हामीलाई ग्याँष्ट्रिक लगायतका समस्याले सताउँछ ।

त्यसैले हिन्दु धर्ममा जलाहार (जल पिएर) वा फलाहार (फलमूलादि खाएर) ब्रत बस्न सकिन्छ। शास्त्रमा ‘सर्वतः आत्मानं गोपायेत्’ अर्थात् जसरी भए पनि आफ्नो शरीर र स्वास्थ्यको रक्षा गर्नु पर्छ भनिएको छ।

त्यसैले आफ्नो स्वास्थ्यको अवस्थालाई ध्यानमा राखी उपर्युक्त तीन प्रकारमध्ये जुन व्रत बस्दा स्वास्थ्य बिग्रँदैन, त्यही विधि अपनाउनु उचित हुन्छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस