
नारी बाटिका
काठमाडौं ३० चैत ।
भक्तपुरमा नौ दिनसम्म मनाइने बिस्का जात्राको पहिलो दिन मै भैरवनाथको रथ भाँचिएको छ । परापुर्व कालदेखी नेवारी समुदायले आठ रात नौ दिनसम्म मनाइने े भक्तपुरको बिस्का जात्राको पहिलो दिनमा पाँचतले मन्दिरस्थित टौमढीबाट तान्न सुरु गरेको प्यागोडा शैलीको भैरवनाथको रथ भाँचिएको हो।
मङ्गलबार दिउँसोदेखि हजारौं भक्तजनहरुले तान्न सुरु गरेको उक्त रथ निरन्तर १३ घण्टासम्म तानेर माथिल्लो क्षेत्रको दत्तात्रयसम्म पुर्याइएको थियो।रथ फर्काउने क्रममा बुधबार बिहान ३ बजे सुकुलढोकामा पुगेर भाँचिएको हो । मङ्गलबार राति नै रथलाई गःहिटी पुर्याएर पूजा गर्नुपर्नेमा सुकुलढोका मै छाडिएपछि बुधबार पुनः तानेर गःहिटी नजिक ल्याइएको गुठी कार्यालय भक्तपुरकी प्रमुख खिमा वलीले बताईन्।
विगतदेखी नै उक्त क्षेत्रका स्थानीय बासिन्दाले ढुङ्गा हान्ने गरेकाले सो कुराको त्रास भएपनि यस वर्ष भने शान्तिपूर्ण रुपमा पहिलो दिनको जात्रा सम्पन्न भएको थियो। तर चलनअनुसार रथलाई बुधबार दिउँसो ३ बजेसम्म पनि गःहिटी पुर्याउन सकिएन।
रथ तान्ने क्रममा मुख्य तीन खामा भाँचिएर रथ बीचमै थन्किएको प्रमुख वलीले बताइन्। वलीका अनुसार रथमा धेरै क्षति पुगेकाले मर्मत गर्ने कार्य जारी रहेको बताइएको छ। रथलाई पूरै बनाउन अझै एक साता समय लाग्ने भएको छ।







प्रतिक्रिया दिनुहोस