आज: २०८२ श्रावण १५, बिहिबार | Thu, 31, Jul, 2025

माओवादी पार्टीभित्रको विवाद चरम उत्कर्षमा

२०८२ श्रावण १४, बुधबार मा प्रकाशित ( १ दिन अघि) १११७ पटक पढिएको
नारी बाटिका


पुनर्गठन नभए पार्टी गम्भीर संकटमा जाने जनार्दनको चेतावनी

नारी संन्चार संवाददाता
काठमाडौं १४ साउन ।

माओवादी पार्टीभित्रको विवादले चरम उत्कर्षको रुप लिएको छ । विवाद बढ्दै गएपछी नेता जनार्दन शर्माले पुनर्गठन नभए पार्टी गम्भीर संकटमा जाने चेतावनी दिनु भएको छ ।

प्रमुख सत्तारुढ दल माओवादी केन्द्रभित्रको विवाद चरम उत्कर्षमा पुगेपछी पार्टीका उपमहासचिव जनार्दन शर्माले पार्टीको पुनर्गठनको माग गर्नु भएको हो । विगतदेखी नै अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता शर्माबीच सार्वजनिक कार्यक्रममा नै आरोप प्रत्यारोप हुँदै आएको थियो ।

उपमहासचिव शर्माले मंगलवार सामाजिक सञ्जाल मार्फत पार्टीबारे उठेको भ्रम र तथ्यलाई गहिरो रूपमा बुझ्न आग्रह गर्दै विशेष महाधिवेशनले पार्टीभित्रको वैचारिक अस्पष्टता, राजनैतिक अन्योलता, सांगठनिक अराजकता, विधि विहीनताका नयाँ पुस्ताको भावना र सपना सम्बोधन गर्ने कार्ययोजना तयार गरेर पार्टीको पुनर्गठन गर्ने प्रस्ताव राख्नु भएका हो ।

शर्माले गएको वर्ष सबै प्रदेशहरूमा भएको परामर्श बैठकपछी केन्द्रीय समितिको बैठकमा भएको छलफल र निर्णय अनुसार आसारदेखि प्रारम्भ गरेर ६ महिना (मंसिर)मा विशेष महाधिवेशन गर्ने निर्णय गरेको थियो भने पार्टीमा एजेन्डा केन्द्रित बहस गर्नुपर्ने र यसले पार्टीलाई पुनर्गठन, सुदृढ र व्यवस्थित गर्न मद्दत पुग्ने दाबी गर्नु भएको छ ।

अध्यक्ष प्रचण्डनिकट नेताहरूले भने जनार्दन शर्माले नेतृत्वमाथि संगीन आरोप लगाएको भन्दै शर्माविरुद्ध कारबाहीको माग राख्दै आएका छन् । पार्टीका अर्का उपमहासचिव वर्षमान पुनले पार्टी नेतृत्वलाई सुदृढ बनाएर लैजानु पर्नेमा कमजोर बनाउने प्रयास गर्नु आपत्तिजनक रहेको बताउँदै आउनु भएको छ ।

नेता शर्माले केही दिनअघि काठमाडौंमा आयोजित एक कार्यक्रममा कम्युनिस्ट नेतृत्व सिद्धान्तमा च्युत हुँदै गइरहेको उल्लेख गर्दै कम्युनिस्ट पार्टीबाट प्रधानमन्त्री भएकाहरू मध्ये मनमोहन अधिकारी बाहेक अरू सबै जनाले असुली धन्दा चलाएको धारणा व्यक्त गर्नु भएको थियो । उहाँको आरोप आफ्नै अध्यक्ष पुष्पकमल दाहालप्रति पनि इंगित थियो । शर्माको यो भनाइपछि प्रचण्डनिकट नेता तथा कार्यकर्ताहरूले शर्मालाई अनुशासनको कारबाही गर्नु पर्ने माग राख्दै आएका छन् ।

उप महासचिव शर्माले मंगलवार दिएको टिप्पणीमा विगत दुई वर्षदेखि माथिल्लो तहबाटै लगातार पार्टी फुट्छ भन्ने गरिएको प्रचारलाई यतिबेला थप मलजल गर्दै पार्टी कार्यकर्ता र जनतामा भ्रमको खेती गर्नेहरूप्रति सचेत हुन आग्रह गर्नु भएको छ

यस्तै उहाँले पार्टी केन्द्रको निर्णय अनुसार हुलाकी राजमार्ग र मध्य पहाडी लोकमार्ग (पुष्पलाल राजमार्ग) अभियानबाट प्राप्त ऊर्जालाई २ बँुदे सहमतिपश्चात् गिरेको पार्टीको शाखलाई पुन माथि उठाउन गम्भीर आत्म समीक्षा गर्दै एजेन्डा केन्द्रित बहसमा केन्द्रित हुन पार्टीपंक्तिलाई आग्रह गर्नुभएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस