
नारी बाटिका
नारी वाटिका संवाददाता
धदिङ -६ माघ । बिबियु
आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा प्रत्यक्ष तर्फको निर्वाचनका लागि आज देशको ७७ वटै जिल्लामा उम्मेदवारको मनोनयन पत्र दर्ता हुंदैछ ।
निर्वाचन आयोगले देशभरका १ सय ६५ निर्वाचन क्षेत्रका लागि सबै जिल्लामा स्थापना भएको मुख्य निर्वाचन अधिकृत कार्यालय र निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवार मनोनयनको लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । यससँगै नेपालमा निर्वाचनको माहोल सुरु भएको अवस्था छ ।
उम्मेदवारको मनोनयनको लागि गत शुक्रवार निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिसकेको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिनु भयो– आयुक्त भण्डारीले ‘उम्मेदवारको मनोनयनको लागि देशभरका सम्पूर्ण निर्वाचन अधिकृतको कार्यालयमा आवश्यक तयारी व्यवस्थापकीय र प्राविधिक सबै तयारी पूरा भइसकेको बताउनु भएको छ ।
आयोगका अनुसार निर्वाचनमा भाग लिएका दलले ढुक्क भएर उम्मेदवारी दर्ता गराउन आवश्यक शान्ति सुरक्षाको प्रबन्ध पनि भइसकेको बताइएको छ ।’
यसअघि निर्वाचनमा भाग लिन १ सय २० दलले दर्ता गराएको भएतापनि १ सय २ ले एक्लाएक्लै र १८ वटा दललाई संयुक्त रूपमा चुनाव लड्ने गरी दल दर्ता गरिएका थिए ।
आज(मंगलवार) बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता हुनेछ । ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको सूची प्रकाशन हुनेछ । मनोनयनपत्र दर्ता गर्दा उम्मेदवारको नागरिकताको प्रमाण पत्रको प्रतिलिपि वा मतदाता परिचय पत्रको प्रतिलिपि, कुनै स्थानीय तहको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको भए सो निस्सा आवश्यक पर्ने आयोगका प्रवक्ता भट्टराईले जानकारी दिनु भयो ।
उम्मेदवारी दिँदा संघीय, प्रदेश वा स्थानीय सरकारमा तथा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व अथवा नियन्त्रणमा रहेको वा तीनै तहका सरकारबाट अनुदान प्राप्त संस्थाबाट पारिश्रमिक पाउने गरी बहाल रहेको भए त्यस्तो पदबाट राजीनामा दिएको निस्सा पनि उम्मेदवारले पेस गर्नुपर्ने आयोगले बताएको छ ।
साथै आफु कुनै कारण्बस उपस्थिति हुन नसकेको अवस्थामा उम्मेदवारले प्रतिनिधि तोकी मनोनयन पत्र दर्ता गर्ने भएमा प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका, २०८२ को दफा २४ संग सम्बन्धित अनुसूची ११ बमोजिमको प्रतिनिधि मुकरर गरेको फारम भर्नुु पर्नेछ ।
मनोनयन पत्र दर्ता गर्दा वा गराउँदा प्रतिनिधिसभा सदस्य निर्वाचन नियमावली, २०७४ को नियम ८ बमोजिम सोही निर्वाचन क्षेत्रको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका एक जना प्रस्तावक र एक जना समर्थक भई विवरण भरी सहीछाप गरेको मनोनयन पत्र मात्रै दर्ता हुने आयोगले जनाएको छ ।
दलका तर्फबाट उम्मेदवारी दिएको भए मनोनयनको औपचारिक पत्र प्रदान गर्न अधिकार पाएको दलको केन्द्रीय कार्यकारिणी समिति वा सो सरहको समितिको पदाधिकारीले प्रदान गरेको प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका, २०८२ को अनुसूची ७ बमोजिमको उम्मेदवार मनोनयनको औपचारिक पत्र आवश्यक पर्ने आयोगले जनाएको छ ।
एकल चुनाव चिह्न लिई संयुक्त रूपमा निर्वाचनमा सहभागी दलहरूको हकमा भने प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका, २०८२ को अनुसूची ८ बमोजिमको उम्मेदवार मनोनयनको औपचारिक पत्र पनि समावेश गर्नु पर्नेछ ।
यसका साथै निर्वाचन अधिकृतको कार्यालयमा १० हजार धरौटी जम्मा गरेको रसिद वा भौचर पनि पेस गर्नु पर्नेछ । तर, महिला र दलित वा अल्पसंख्यक समुदाय वा आर्थिक रूपले विपन्न उम्मेदवारको हकमा भने धरौटी रकममा ५० प्रतिशत छुट हुने आयोगका प्रवक्ता भट्टराईले बताउनु भयो ।
विपन्नका हकमा स्थानीय तहले आर्थिक रूपमा विपन्न भनी सिफारिस गरेको पत्र पनि समावेश गर्नु पर्नेछ । त्यसैगरी उम्मेदवारले प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका, २०८२ को दफा २१ सँग सम्बन्धित अनुसूची ९ बमोजिमको ढाँचामा आफ्नो चल, अचल सम्पत्ति, बैंक तथा वित्तीय संस्थामा रहेको खाता, धितोपत्र, सेयर, ऋण पत्र, कसैलाई ऋण दिएको वा लिएको भए त्यसको समेत सम्पूर्ण विवरण उल्लेख गरी सिलबन्दी रूपमा पेस गरेको सम्पत्ति विवरण पनि पेस गर्नु पर्ने छ ।
साथै निर्वाचन निर्देशिका, २०८२ को दफा २२ सँग सम्बन्धित अनुसूची १० बमोजिम भरिएको वैयक्तिक विवरण फारम, निर्वाचित, मनोनीत वा नियुक्त भएको निकायबाट कुनै पनि प्रकारको पेस्की लिएको भए फछ्र्यौट भएको व्यहोराको निस्सा संलग्न गर्नु पर्नेछ । त्यसै गरी लेखापरीक्षणबाट कुनै पनि उम्मेदवारका नाममा किटानी साथ असुलउपर गर्नुपर्ने भनी कायम भएको बेरुजु भए फछ्र्यौट गरेको निस्सा र निर्वाचन आचारसंहिता, २०८२ को अनुसूची ३ बमोजिमको प्रतिबद्धता पत्र पनि समावेश गर्नुपर्ने छ ।
त्यस्तै उम्मेदवारको विरोधमा उजुरी दिनको लागी माघ ७ गतेभित्र उजुरी पत्र पेश गर्न सकिने आयोगले जनाएको छ । बिहान १० बजेदेखि ३ बजेसम्मको समय उजुरीका लागि निर्धारण गरिएको छ ।
उजुरीमा जाँचबुझ गरी माघ ८ गते साँझ ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशित हुनेछ । उम्मेदवारी फिर्ता लिन माघ ९ गते बिहान १० बजेदेखि १ बजेसम्मको समय तोकिएको छ भने सोही दिन ३ बजेभित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिह्न प्रदान गरिने छ ।







प्रतिक्रिया दिनुहोस