आज: २०८२ माघ ७, बुधबार | Wed, 21, Jan, 2026

कांग्रेसका करिव दुई–तिहाइ नयाँ अनुहार चुनावी मैदानमा

२०८२ माघ ७, बुधबार मा प्रकाशित ( ३ घण्टा अघि) १११७ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

धादिङ -७ माघ । बिबियु

नेपाली कांग्रेसले प्रतिनिधि सभा निर्वाचनका लागि देशभरका १६५ निर्वाचन क्षेत्रमै उम्मेदवारी दिएको छ।

यसअघि पटक पटक अन्य पार्टीसंग गठबन्धन गरी चुनाव लडेको नेपाली कांग्रेसले यस निर्वाचनमा भने कसैसँग पनि गठबन्धन नगरी देशको १६५ निर्वाचन क्षेत्रमा उम्मेद्वारी दर्ता गराएको छ । विगतका केही चुनावहरूमा कांग्रेसले गठबन्धन गर्दै आएको थियो।

यसै माघ ११ मा हुने राष्ट्रिय सभा निर्वाचनमा भने कांग्रेसले एमाले र लोसपासँग तालमेल गरेको छ। शेरबहादुर देउवा सभापति रहँदा नै राष्ट्रिय सभाका निर्वाचनको लागि एमाले र लोसपासँग तालमेल गर्न निर्णय भएको थियो।

तर विशेष महाधिवेशनबाट गगन थापा नेतृत्वमा नयाँ कार्यसमिति बनेसंगै यसअघिको महासमिति बैठकले गरेको निर्णयलाई निरन्तरता दिने कसैसँग पनि गठबन्धन नगर्ने र १६५ क्षेत्रमै उम्मेदवारी दिने निर्णय भएको थियो।

विशेष महाधिवेशनबाट बनेका प्रवक्ता देवराज चालिसेले १६५ जना उम्मेदवार चयन गरिएको र जसमा १०६ जना नयाँ उम्मेदवार तय गरिएको जानकारी दिए। यसरी कुल उम्मेदवारको संख्यामध्य नयाँको संख्या झन्डै दुई–तिहाइ हुन आउँछ।

त्यस्तै काँग्रेसले युवा पुस्ताका उम्मेद्वारलाई समेटेको छ । जसमध्य काठमाडौं क्षेत्र नं. ४ मा सचिन तिमल्सेना, इलाम क्षेत्र नं.१ मा निस्कल राई,रोल्पामा सुदनकुमार ओली लगायतलाई कांग्रेसले उम्मेदवार बनाएको हो।

काँग्रेसको १३ पदाधिकारीको संसदीय बोर्ड गठन गरी कुनै पक्षपात नगरी टिकट वितरण गरिएको प्रवक्ता देवराज चालिसेको भनाइ छ । पुर्व सभापति देउवाको कार्यकालमा नै पार्टीको क्षेत्र, जिल्ला र प्रदेशबाट सिफारिस भई आएका नामहरूलाई नै प्राथमिकता दिएर संसदीय बोर्डबाट टिकट दिइएको उनको भनाइ छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस