
नारी बाटिका
बिवियु,नारी वाटिका डट्कम
धादिङ -१३ असार ।
आज कोशी,मधेश र बागमती प्रदेशभर, गण्डकी प्रदेशको केही स्थान, लुम्बिनी प्रदेशको पूर्वी भागका केही स्थानमा सक्रिय रुपमा मनसुन प्रभाव छ।साथै बाँकी अन्य क्षेत्रमा पनि पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव देखिएको छ।
गण्डकी र लुम्बिनी प्रदेशका बाँकी क्षेत्र तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका सम्पूर्ण भुभागमा आगामी चारदेखि पाँच दिनभित्रमा मनसुन विस्तार हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
अहिले हिमाली तथा पहाडी क्षेत्रमा साधारणतया बादल लागिरहेको भने तराई क्षेत्रमा आंशिक बादल लागेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा भइरहेको छ।
महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली तथा पहाडी क्षेत्र, मधेश प्रदेश र कोशी प्रदेशको तराई भागमा साधारणतया बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भेगका केही स्थान, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भेगका एक–दुई स्थानमा मध्यम वर्षा हुनेछ । साथै उच्च हिमाली क्षेत्रमा हिमपातको पनि सम्भावना छ।
कोशीका तराई भाग, मधेश प्रदेशका केही भाग, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भागका एकदुई स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा हुनेछ।
महाशाखाका अनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा तातो हावा चल्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।
आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्ने तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।
साथै, कोशी प्रदेशका पहाडी तथा तराईका थोरै स्थानमा भारी वर्षा हुनसक्ने भएकाले त्यसबाट हुन सक्ने विपतका जोखिमप्रति सतर्क रहन महाशाखाले आग्रह गरेको छ।








प्रतिक्रिया दिनुहोस