
बिबियु,नारी वाटिका डट्कम
धादिङ -२५ कात्तिक ।
आज नेपालीको महान पर्व तिहार अर्थात यमपञ्चकको अन्तिम दिन ।आज दिदीबहिनीबाट दाजुभाइलाई टीका लगाएर मिठा परिकार खुवाईँदैछ । यस्तै दाजुभाइले पनि दिदीबहिनीलाई टिका लगाएर मायाँ र सम्मान प्रकट गरी भाइटीका पर्व मनाउँदैछन्।
हरेक वर्षको कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने भाइटीका पर्व नेपालीहरुको दशैंपछीको अर्को ठूलो चाड तिहारको मुख्य पर्व हो। भाइटिकाका दिन दिदीबहिनीले आफ्ना दाजुभाइको दीर्घायु, आरोग्य र समृद्धिको कामना गर्दै सप्तरङ्गी तथा पञ्चरङ्गी टीका लगाइदिने गरिन्छ।
आजको दिन सकभर शुभसाइतको समय पारेर दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाइदिने र उपहार तथा दक्षिणा दिने परम्परा छ। यमपञ्चकको अन्तिम दिन आज दाजुभाइलाई दिदीबहिनीले प्राकृतिक रुपमा फुलेका सयपत्री र मखमली फुलले पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने धार्मिक मान्यता रहेको छ।
साइत खोज्नेका लागि भाइटीकाको उत्तम साइत बिहान ११ः०७ बजे मिनेटमा रहेपनि आज दिनभर दिदीबहिनीले दाजुभाइलाई टिका लगाउन सकिनेछ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष एव्ं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताउनु भयो। उहाँका अनुसार आज दिनभर टीका लगाउन कुनै बाधा नपर्ने बताउनु भयो ।
समितिका अनुसार यस वर्ष भाइटीका लगाइदिँदा दिदीबहिनी पूर्वतिर र दाजुभाइ पश्चिम पट्टी फर्कनुपर्ने जनाएको छ। यसरी टिका लगाउँदा वृश्चिक राशिमा रहेका चन्द्रमा दाहिने पर्नेछन्। आज बिहान चन्द्रमा वृश्चिक राशिमा प्रवेश गर्ने र त्यसअघि चन्द्रमा तुला राशिमा रहनेछन्। तुला राशिमा चन्द्रमा रहेका बेला पनि यही दिशातिर फर्किएर टीका लगाउन सकिने प्रा डा गौतमले बताउनु भयो।
यस्तै, कुनैपनि शुभकार्य गर्दा चन्द्रमालाई अगाडि वा दाहिने पार्नुपर्ने शास्त्रीय मान्यता रहेको उहाँको भनाइ छ। भाइटिका लगाउनुभन्दा पहिले दिदीबहिनीले लक्ष्मीपूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पुजा गरिन्छ।
त्यसपछि मूल थालीमा लेखिएको अष्टदलमा अष्टचिरञ्जीवी मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुरामका साथै चित्रगुप्त, यमराज, यमुना, धर्मराज तथा गणपत्यादि वनस्पत्यन्त देवताको पूजा आराधना गरि टिका लगाउन सुरु गरिन्छ ।
परम्पराअनुसार तिहारमा दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले तिन फन्को घुम्दै छेकेर पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाइदिने तथा मखमली, सयपत्री र गोदावरीलगायत फूलका माला पहि¥याउने चलन छ।
यसैगरी,तिहारमा सप्तरङ्गी टीका लगाउने गरिन्छ तर शास्त्रीय मान्यता अनुसार रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँच रङका टीका लगाउने व्यवस्था धर्मशास्त्रमा रहेको धर्मशास्त्रविद् गौतमले जानकारी दिनु भयो ।
तर आफ्ना दिदीबहिनी नहुनेका लागि भने यस दिन निकै खल्लो हुने गर्दछ । त्यसै कारण काठमाडौँको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुला गर्ने प्रचलन छ।
वर्षमा एक पटक भाइटीकाका दिनमात्र खुल्ने यस मन्दिरमा दिदीबहिनी तथा दाजुभाइ नहुनेले यसै मन्दिरमा गएर पूजा दर्शन गरी टीका लगाएर तिहार मनाउने गरिएको छ ।












प्रतिक्रिया दिनुहोस