आज:  | Tue, 10, Sep, 2024

चाडपर्वका समय कृतिम अभाव, कालोबजारी र मूल्यवृद्धि सह्य नहुने,गृहमन्त्री लेखक

१४ भाद्र २०८१, शुक्रबार ०९:३८ मा प्रकाशित ( १ हफ्ता अघि) ८४ पाठक संख्या
नारी बाटिका


काठमाडौं १४ भदौ ।

गृहमन्त्री रमेश लेखकले चाडपर्वका समयलाई लक्षित गरी कृतिम अभाव,कालोबजारी,मूल्यवृद्धि र गुणस्तरहीन सामान बिक्री वितरण नियन्त्रण गर्न निर्देशन दिनु भएको छ । नेपालीहरुको नजिकीँदै गरेको चाडपर्वलाई लक्षित गरी सहज आपूर्ति व्यवस्थापन, र प्रभावकारी बजार अनुगमन सम्बन्धी विषयमा सरोकारवालासँगको छलफलमा उहाँले सो कुरा बताउनु भएको हो ।

‘चाडपर्वका समयमा कृतिम अभाव, कालोबजारी, मूल्यवृद्धि र गुणस्तरहीन वस्तु बिक्री वितरण नियन्त्रणका लागि हामी कहाँनिर सहयोगी हुनु सक्छौं । चाडपर्वको बेलामा दैनिक उपभोग्यका सामग्रीको सहज र सरल पहुँच हुनुपर्यो,’उहाँले भन्नु भयो ।

दसैं तिहारका बेला एकै रातमा हुने मुल्यवृद्धिलाई सुक्ष्म ढंगले अनुगमन गरी नियन्त्रण गर्न गृहमन्त्री लेखकले निर्देशन दिनु भयो । ‘मूल्यवृद्धिको उचित कारण हुनुपर्यो नि ? उही सामान एक दिनअघि एउटा मूल्य छ , अर्को दिन अर्को मूल्य हुन्छ । यो कुरालाई सबैले गम्भीरता पुर्वक लिएर परिणाम आउने गरी काम गर्नुपर्यो,’उहाँले भन्नु भयो ।

त्यसैगरी ‘गुणस्तरहीन खाद्यवस्तुहरुको बिक्री चाडबाडमै गर्ने गरिन्छ । गुणस्तरहीन वस्तु उपभोगक्ता कहाँ पुग्ने यही बेला हो । यसलाई कडाईका साथ हेर्न जरुरी छ ।’सरोकारावाला पक्षमा समन्वय हुँदा परिणाम दिन सकिने भन्दै चाडपर्वपछि बस्ने अर्को बैठकमा त्यसको मूल्याङ्कन हुने गृहमन्त्री लेखकले बताउनु भयो।

‘गृहमन्त्रालय एकतिर, वाणिज्य मन्त्रालय एकातिर, अनुगमन एकातिर, गुणस्तर नापजाँच एकातिर भयो भने राम्रो हुँदैन । एकीकृत रुपमा काम गर्नुपर्यो,’ उहाँको जोड रहेको छ, ‘ । अहिले छलफल भएका विषयमा कसलाई कहाँनिर सहयोग चाहिन्छ । तमतयार भएर सहयोग दिनुहोस् । परिणाम आउनेगरी काम गर्नुहोस् । चाडपर्व पछि आजको छलफलमा भएका कुराको मूल्याङ्कनका लागि हामी फेरि बैठक बस्छौं।’

त्यस्तै छलफलमा गृहसचिव एकनारायण अर्यालले सरकार भनेको प्रहरी भएको भन्दै बजार अनुगमनमा तीव्रता दिनुपर्ने बताए । उनले वाणिज्य विभागले सबै सहाय जिल्ला अधिकारीसँग जुम मिटिङ गरेर बजार अनुगमनलाई प्रभावकारी बनाउनुपर्ने बताए । यसपालि दसैंमा सुपथ पसल बढाइने भन्दै कालोबजारी गर्नेमाथि निर्मम भएर कारबाही गरिने सचिव अर्यालको भनाइ थियो ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजन पौडेलले छलफलमा बजार अनुगमनको अवस्था, बजार अनुगमनको अपेक्षा, अत्यावश्यक दैनिक खाद्य तथा उपभोग्य वस्तुहरुको आपूर्तिबारे जानकारी गराएका थिए । यस्तै बजार अनुगमनको दोहोरोपना हटाएर सरकारले मूल्य निर्धारणको हक निर्धारण गर्नु पर्ने सरोकारवालाहरुको जोड रहेको थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%

प्रतिक्रिया दिनुहोस