
नारी बाटिका
बिबियु -नारी बाटिका संवाददाता
धादिङ -३० वैशाख ।
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)मा ननग्रेडेड (अनुत्तीर्ण) भएका विद्यार्थीहरुका लागि आगामी असार १ गतेदेखि ग्रेडवृद्धि परीक्षा गर्ने भएको छ । यसवर्ष एसईईको नतिजामा ननग्रेडेड भएका एक लाख ४६ हजार ५०७ जना विद्यार्थीका लागी मौका परीक्षा दिन असार १ देखि ९ गतेसम्म परीक्षा सञ्चालन गर्ने बोर्डका परीक्षा नियन्त्रक टुकराज अधिकारीले लागिएको जानकारी दिए ।
यस वर्षमा दुई लाख ८४ हजार १६० विद्यार्थी ग्रेडेड (उत्तीर्ण) भएका र एक लाख ४६ हजार ५०७ ननग्रेडेड भएका छन् । एसईई परीक्षा दिन पाँच लाख १२ हजार ४२१ जना विद्यार्थीले परीक्षा फाराम भरेका थिए । तर परीक्षामा भने चार लाख ३० हजार ६६७ जना विद्यार्थी मात्रै सहभागी भएका थिए।
परिक्षामा फेल (नन्ग्रेड) भएका विद्यार्थीका लागी पास हुन सक्ने बनाउन सम्बन्धित विद्यालयलाई थप तयारी कक्षा सञ्चालन गर्न राष्ट्रिय परीक्षा बोर्डले आग्रह गरेको छ । बोर्डले एसईईको नतिजामा चित्त नबुझेमा पुनर्योग गर्ने तालिका पनि सार्वजनिक गरेको छ ।
परिक्षाको नतिजामा चित्त नबुझेका विद्यार्थीहरुले पुनर्योेगका लागि जेठ १ गतेदेखि ७ गतेभित्र निवृेदन दिन सकिने अधिकारीले जानकारी दिए । गत चैत १९ देखि २९ सम्म सञ्चालित परीक्षाको नतिजा यस पटक २९ दिनमा सार्वजनिक गरेको हो ।
हिजो(सोमबार) सार्वजनिक भएको एसईईको नतिजामा ६५ दशमलव ९८ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन् भने गत वर्षभन्दा यस पटक ४ दशमलव १७ प्रतिशतले वृद्धि भएको छ ।
देशभरबाट कोशीमा ५० हजार ८९०, मधेसमा ४४ हजार ५९२, बागमतीमा ७७ हजार ११३, गण्डकीमा २६ हजार ५५०, लुम्बिनी ४४ हजार २५६, कर्णाली १९ हजार ९५ र सुदूरमपश्चिमा २१ हजार ६६४ विद्यार्थीहरु ग्रेडेड भएका छन् ।
यस्तै परीक्षामा मधेस प्रदेशका ३१ हजार ७२५, कोशीमा २१ हजार ३६६, बागमतीमा २१ हजार ७०४, गण्डकीमा ९ हजार ९४३, लुम्बिनीमा २७ हजार ८९३, कर्णालीमा १३ हजार २४१ र सुदूरपश्चिममा २० हजार ६३५ विद्यार्थी ननग्रेडेड भएका हुन् ।
बोर्डका अनुसार कक्षा ११ को भर्ना प्रक्रिया पनि छिट्टै सुरु गर्ने परीक्षा नियन्त्रक अधिकारीले जानकारी दिए । यसबारेमा शिक्षा मन्त्रालयले सरोकारवाला पक्षसँग छलफल गरेर भर्ना र पठनपाठनको मिति निर्धारण गर्ने बोर्डले जनाएको छ ।








प्रतिक्रिया दिनुहोस